काठमाडौं । जारी टी– २० विश्वकपमा आयोजक श्रीलंका र भारतसहित पाँच देश सुपर आठमा पुगेका छन् ।
श्रीलंका र भारतसहित वेस्ट इण्डिज, इङल्याण्ड र दक्षिण अफ्रिकाले सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । तर २०२१ विश्वकपको च्याम्पियन अस्ट्रेलियाको विश्वकप यात्रा भने संकटमा परेको छ । समुह बी मा जिम्बाबे र श्रीलंकासँग हार बेहोरेपछि अस्ट्रेलिया समुह चरणबाटै बाहिरिने अवस्था बनेको हो ।
समूह ए: पाकिस्तानलाई जित अनिवार्य
आइतबार समूह– ए अन्तर्गत दुई खेल सम्पन्न भए । अमेरिकाले नामिबियालाई ३१ रनले हरायो भने भारतले पाकिस्तानलाई ६१ रनले पराजित गर्यो । ६ अंकसहित भारत शीर्ष स्थानमा रहँदै सुपर आठमा प्रवेश गरिसकेको छ ।
अमेरिका ४ अंकसहित दोस्रो स्थानमा छ र उसका सबै खेल सकिएका छन् । पाकिस्तानको पनि ४ अंक भए पनि कमजोर रनरेटका कारण तेस्रो स्थानमा छ । अब पाकिस्तानको अन्तिम खेल नामिबियासँग छ । नामिबिया तीन खेल हारेर बाहिरिसकेको छ । तर यदि नामिबियाले पाकिस्तानलाई हराएमा २००९ को च्याम्पियन पाकिस्तान समूह चरणबाटै बाहिरिनेछ ।
समूह बी: जिम्बाब्वे विजयी भए अस्ट्रेलिया बाहिर
श्रीलंकाले लगातार तेस्रो जित निकाल्दै सुपर ८ मा स्थान सुरक्षित गर्यो । दोस्रो हारपछि अस्ट्रेलिया बाहिरिने संघारमा पुगेको छ । अब अस्ट्रेलियाले ओमानविरुद्ध अन्तिम खेल जित्नुपर्नेछ र जिम्बाब्वेका दुवै खेल हार्ने प्रतीक्षा गर्नुपर्नेछ ।
यदि जिम्बाबेले श्रीलंका र आयरल्यान्डसँग हार बेहोरे र अस्ट्रेलियाको रनरेट उत्कृष्ट रह्यो भने मात्रै उसले क्वालिफाइ गर्नेछ । तर जिम्बाबेले अन्तिम दुईमध्ये एक खेल जिते पनि श्रीलंकासँगै सुपर आठमा स्थान बनाउनेछ ।
समूह सी: इङ्ल्यान्ड र वेस्टइन्डिज सुपर आठमा
सोमबार इङ्ल्यान्डले इटालीलाई २४ रनले हराउँदै सुपर आठमा प्रवेश गर्यो । वेस्टइन्डिज भने तीनै खेल जित्दै यसअघि नै अर्को चरणमा पुगिसकेको छ । यस समूहका इटाली, नेपाल र स्कटल्यान्ड दुईभन्दा बढी हारका कारण समूह चरणबाटै बाहिरिएका छन् ।
समूह डी: न्यूजील्यान्डलाई अवसर
आज न्यूजील्यान्ड र क्यानाडाबीच खेल हुनेछ। न्यूजील्यान्डले जित निकाले सुपर आठमा पुग्नेछ । दक्षिण अफ्रिका भने तीनै खेल जित्दै यसअघि नै अर्को चरणमा प्रवेश गरिसकेको छ । अफगानिस्तान र यूएई एक–एक जितसहित तेस्रो र चौथो स्थानमा छन् । उनीहरूलाई क्वालिफाइ गर्न अन्तिम खेल जित्नुका साथै न्यूजिल्यान्डको हारको प्रतीक्षा गर्नुपर्ने अवस्था बनेको छ । क्यानाडा आज पराजित भए प्रतियोगिताबाट बाहिरिनेछ ।
व्यक्तिगत प्रदर्शन
श्रीलंकाका ब्याट्सम्यान कुसल मेन्डिसले सोमबार ५१ रन बनाउँदै प्रतियोगितामा लगातार तेस्रो अर्धशतक पूरा गरे । १६८ रनसहित उनी हाल शीर्ष रन स्कोरर छन् । टिम साइफर्ट १६७ रनसहित दोस्रो र ईशान किशन १५८ रनसहित तेस्रो स्थानमा छन् । साइफर्टसँग आज शीर्ष स्थान कब्जा गर्ने अवसर हुनेछ भने किशनले फेब्रुअरी १८ मा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछन् ।

बलिङतर्फ अमेरिकाका मिडियम पेसर शैडली भान शाल्कविक ४ खेलमा १३ विकेटसहित शीर्ष विकेट टेकर बनेका छन् । दक्षिण अफ्रिकाका लुंगी एन्गिडी र अफगानिस्तानका अजमतुल्लाह ओमरजई समान ८–८ विकेटसहित दोस्रो स्थानमा छन् । जिम्बाब्वेका ब्लेसिङ मुजरबानीले आज २ विकेट लिए दोस्रो स्थानमा उक्लने सम्भावना छ ।

FACEBOOK COMMENTS