काठमाडौं । सार्वजनिक स्थलमा वृद्धमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् । सडकमा हिँडिरहेका वृद्धलाई कुटपिट गर्ने कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका– ३ बस्ने ४२ वर्षीय कार चालक पारस बम रहेका छन् । बमले महाराजगन्जस्थित सडकमा हिँडिरहेका वृद्धलाई कारबाट ओर्लेर झापड हानेका थिए। वृद्धमाथि कुटपिट गरेको भिडिओ भाइरल भएपछि प्रहरीले छानविन अघि बढाएको थियो ।
सोही क्रममा बालुवाटारबाट कार चालक बमलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख नवराज अधिकारीले बताए । बमलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको उनले बताए । बमले ती वृद्धलाई किन कुटपिट गरे भन्ने कारण खुलिनसकेको अधिकारीले बताए ।
बहिनीसँग हिँडेका बमले बीच सडकमा बा ३ च ११०३ नम्बरको कारबाट ओर्लेर ती वृद्धलाई कुटपिट गरेका थिए । उनीसँगै उनको बहिनीले पनि ती वृद्धलाई गालीगलौज गरेको थियो ।
FACEBOOK COMMENTS