काठमाडौं । अमेरिका र इरान बीचको तनाव थप चर्किँदै गएको छ । प्रारम्भमा अमेरिकाले पश्चिम एसियामा दुई युद्धपोत तैनाथ गरेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि इरानविरुद्ध सम्भावित सैन्य कारबाहीको आशंका बढेको थियो ।
पछिल्लो २४ घण्टाभित्र अमेरिकाले ५० भन्दा बढी लडाकु विमान पनि पश्चिम एसियातर्फ पठाएको जनाइएको छ । यसलाई इरान वरिपरि नौसैनिक र वायुसेनाको उपस्थिति बढाएर दबाब सिर्जना गर्ने कदमका रूपमा हेरिएको छ । गत साता अमेरिकाले आफ्नो सबैभन्दा ठूलो युद्धपोत युएसएस गेराल्ड आर फोर्डलाई पश्चिम एसियामा पठाएको थियो भने युएसएस अब्राहम लिंकन पहिलेदेखि नै उक्त क्षेत्रमा तैनाथ छ ।
यता इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेई ले सामाजिक सञ्जालमार्फत अमेरिकालाई कडा चेतावनी दिएका छन्। उनले लेखेका छन्– ’अमेरिकाले इरानतर्फ युद्धपोत पठाएको भनिरहेको छ । युद्धपोत खतरनाक हुन सक्छ, तर त्यसलाई समुद्रको गहिराइमा डुबाउन सक्ने हतियार अझ खतरनाक हुन्छ ।’
यसैबीच जेनेभामा जारी अमेरिका–इरान वार्तामा केही प्रगति भएको बताइएको छ, तर अझै धेरै विषयमा विस्तृत छलफल हुन बाँकी छ ।
खामेनेईले इरानको आणविक कार्यक्रमबारे पनि धारणा सार्वजनिक गर्दै आणविक ऊर्जा प्रयोग गर्ने अधिकार प्रत्येक देशको स्वाभाविक अधिकार भएको उल्लेख गरेका छन् । उनले अन्तर्राष्ट्रिय दिशानिर्देशमा समेत यस अधिकारको व्यवस्था रहेको भन्दै अमेरिकाले हस्तक्षेप गर्नु उपयुक्त नभएको बताएका छन् ।

FACEBOOK COMMENTS