काभ्रे/काभ्रे निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यको चुनावी अभियान पछिल्ला दिनमा सुस्त बन्दै गएको छ । कारण, पार्टीभित्रका बलिया संगठनकर्ता मानिने शिवप्रसाद हुमागाई चुनावी प्रचारमा खुलेर ननिस्कनु हो ।
स्थानीय तहदेखि केन्द्रसम्म राम्रो संगठन क्षमता भएका हुमागाई केही दिनयता सार्वजनिक कार्यक्रम, प्रचारप्रसार र मतदाता भेटघाटमा देखिएका छैनन्। कांग्रेसभित्रै अहिले यही प्रश्न घुमिरहेको छ— हुमागाई किन निस्किएनन ?
पुरानो घाउ अझै ताजा२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–माओवादी–समाजवादीसहितको गठबन्धनबाट उम्मेदवार बनेका हुमागाई पराजित भएका थिए । चुनावपछि मतदातालाई धन्यवाद दिने सभामा हुमागाईले पार्टीभित्रकै केही नेताका कारण हारिएको संकेत गरेका थिए ।
त्यसको मुख्य निशाना तत्कालीन नेता मधु आचार्य रहेको कांग्रेस वृत्तमा चर्चित थियो । त्यसपछि जिल्ला समितिले आचार्यसहित केही नेतामाथि कारवाही सिफारिस पनि गरेको थियो । तर छानबिन प्रक्रिया नटुंगिँदै फुकुवा भएपछि हुमागाई पक्षका कार्यकर्तामा झन् असन्तुष्टि बढेको बताइन्छ ।
अपमान र बेवास्ताले हुमागाई ‘मौन’
कांग्रेस स्रोतका अनुसार पछिल्ला दिनमा हुमागाई विभिन्न कार्यक्रममा उपेक्षा र अपमानमा परेका छन् । जडिबुटीमा आयोजित चुनावी कार्यक्रममा उनलाई ‘पूर्व केन्द्रीय सदस्य’ भनेर अपमानसहित आसन ग्रहण गराइएको चर्चा छ । पनौतीमा कार्यालय उद्घाटनका क्रममा पनि उचित सम्मान नपाएको कार्यकर्ताहरूको भनाइ छ । यस्ता घटनापछि हुमागाईले धेरै नेता–कार्यकर्ताको फोन नउठाउने र सार्वजनिक कार्यक्रममा कम देखिने गरेका छन् । पार्टीभित्रै कतिपयले उनलाई ‘भुमिगत जस्तै’ भएको टिप्पणी गर्न थालेका छन् ।
गुटबन्दीको असर : चुनावमा असर पर्ने संकेत
काभ्रे कांग्रेसमा अहिले पनि विशेष महाधिवेशनलाई लिएर विवाद कायमै रहेको देखिन्छ । काभ्रेमा २६ र २८ को समीकरण खुलेरै रहेको चर्चा छ । मधु आचार्यलाई विशेष महाधिवेशनको मुख्य डिजाइनर मानिँदा हुमागाई नियमित महाधिवेशनको पक्षधर नेता हुन् । यही आन्तरिक संघर्षका कारण हुमागाई प्रचारमा नउत्रिएको र त्यसको प्रत्यक्ष असर आचार्यको अभियानमा परेको कांग्रेस कार्यकर्ताहरूको भनाइ छ ।
हुमागाई नउत्रिँदा आचार्यलाई ठूलो संकट
स्थानीय कांग्रेस नेताहरूका अनुसार काभ्रे–२ मा संगठन चलाउने, टोल–टोल समन्वय गर्ने, मतदाता परिचालन गर्ने मुख्य जिम्मेवारी हुमागाईकै प्रभावमा थियो । उनी सक्रिय नभए पछि कांग्रेसको परम्परागत मत कम खस्ने खतरा बढेको छ । प्रचारप्रसार उत्साहहीन बनेको, रुष्ट मत अन्यत्र जान सक्ने, एमालेको मत सुरक्षित हुँदा कांग्रेसलाई जित कठिन हुने जस्ता चुनौती देखिएका छन ।
कांग्रेसभित्रै प्रश्न : ‘जसले हरायो, उसलाई किन जिताउने ?’
कांग्रेसभित्र अहिले खुलेर भन्न थालिएको छ— ‘हुमागाईलाई हराएको आरोप लागेको व्यक्तिलाई जिताउन उनी किन दौडिन्थे ?’ हुमागाई समर्थक कार्यकर्ताहरूको असन्तुष्टि बढ्दै जाँदा आचार्यको चुनावी अभियान झन् कमजोर बन्दै गएको बताइन्छ । कतिपय कार्यकर्ताले त ‘आचार्यले पहिला अरूलाई असहयोग गरे, अब आफूलाई परेको बेला सहयोग कसले गर्छ ? भन्ने प्रश्न उठाउन थालेका छन् ।
अन्य दललाई अवसर
काभ्रे–२ मा कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी भए पनि यसपटक रास्वपाको उम्मेदवारले पनि असन्तुष्ट मत तान्न सक्ने आँकलन छ । एमालेको समानुपातिक मत कांग्रेसभन्दा करिब १० हजार बढी रहेको पृष्ठभूमिमा कांग्रेसले जित्न आफ्नै मत सुरक्षित गर्नुपर्ने चुनौतीमा छ ।
यस्तो अवस्थामा कांग्रेसका बलिया संगठनकर्ता हुमागाई मैदानमा नउत्रिनुले आचार्यलाई मात्र होइन, कांग्रेसलाई नै कमजोर बनाउने संकेत देखिएको स्थानीय राजनीतिक विश्लेषकहरू बताउँछन् ।

उनी उम्मेदवारी दर्ताको समयमा पनि आचार्यले नबोलाईकन नै पुगेका थिए । पछि २ वटा कार्यक्रममा सहभागि भए पछि निस्किएका छैनन । फागुन ४ गते देखि घर दैलो अभियानमा निस्कने अपेक्षा गरेको भए पनि उनी अझै निस्किएका छैनन । काभ्रे–२ मा कांग्रेसको लडाइँ एमालेसँग मात्र होइन, आफ्नै घरभित्रको असन्तुष्टि र गुटबन्दीसँग पनि हो । यही द्वन्द्वको केन्द्रमा अहिले शिव हुमागाईको मौनता निर्णायक बन्दै गएको छ ।

FACEBOOK COMMENTS