काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाको तर्फबाट अघिल्लो निर्वाचनमा उम्मेदवार बनेका डा. प्रणय समशेर राणा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
द्वन्द्व व्यवस्थापनमा विद्यावारिधी गरेका राणा रास्वपाको केन्द्रीय गुनासो विभाग प्रमुख पनि थिए । अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा राणाले काठमाडौँ ५ मा ५ हजार ४ सय ७७ मत प्राप्त गरेका थिए ।
रास्वपामा टिकट वितरणको पद्दतीमा प्रश्न उठाउँदै आएका राणाले केही दिन अघि पार्टीमा विधि र पद्दती मिचिएको भन्दै रास्वपाबाट राजीनामाको घोषणा गरेका थिए ।
उनले रास्वपाले प्राइमरीका आधारमा उम्मेदवार चयन गर्ने भनेर शुल्क उठाए पनि पछि त्यसको बर्खिलाप गएर टिकट वितरण गरेको भन्दै उनले निरन्तर विरोध जनाउँदै आएका थिए ।
यसैगरी कामनपा ३ मा बलियो प्रभाव रहेका समाजवादी पार्टीका केन्द्रीय सदस्य केसी विगतमा वडाध्यक्ष रहिसकेका छन् । दुवैलाई राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापा र महामन्त्री प्रदीप पौडेलले पार्टी प्रवेश गराए ।

FACEBOOK COMMENTS