काठमाडौँ । प्रेम सम्बन्धलाई औपचारिक रूप दिँदै अभिनेत्री नीति शाह वैवाहिक जीवनमा प्रवेश गरेकी छन् ।
उनले शुक्रबार प्रेमी याञ्चित राणासँग पारम्परिक विधिअनुसार विवाह गरेकी हुन् । काठमाडौंस्थित एक होटलमा सम्पन्न समारोहमा दुवै परिवार, आफन्त र निकट मित्रहरूको उपस्थिति रहेको थियो ।
यसअघि गत बैशाखमा उनीहरूले काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह दर्ता गरिसकेका थिए । करिब चार वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले विवाहअघि प्रि–वेडिङ फोटोसुट तथा निकट साथीहरूसँग गोप्य रूपमा ब्याचलर पार्टीसमेत मनाएका थिए । बुधबार आयोजित संगीत समारोहमा पल शाह, बेनिशा हमाल, सन्ध्या केसी र आकृति राजभण्डारीलगायतले प्रस्तुति दिएका थिए ।
शनिबार साँझ भव्य स्वागत समारोह आयोजना गरिएको छ। कार्यक्रममा राजेश हमालदेखि अनमोल केसीसम्मका कलाकारलाई निमन्त्रणा गरिएको बताइएको छ । नीतिका पति याञ्चित पेशाले विमान मर्मत इन्जिनियर हुन् र हेलिकप्टर सेवा प्रदायक कम्पनी एयर डाइनेस्टीमा कार्यरत छन् ।
सन् २०१७ मा मिस इन्टरनेशनल नेपालको उपाधि जितेकी नीतिले फिल्म ‘खजुरे ब्रो’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । प्रारम्भिक केही फिल्मले अपेक्षित सफलता नपाए पनि यस वर्ष प्रदर्शन भएको ‘मोहर’ले उनलाई व्यावसायिक सफलता दिलाएको थियो । हाल उनी आधा दर्जनभन्दा बढी फिल्ममा व्यस्त रहेकी छिन .

FACEBOOK COMMENTS