काठमाडौं । गत २३ र २४ भदौमा देशभर भएको जेन–जी आन्दोलनका क्रममा मृत्यु भएकामध्ये १२ जनाको पहिचान अझै खुल्न नसकेको नेपाल प्रहरीले जनाएको छ । आन्दोलनका क्रममा कुल ७६ जनाको मृत्यु भएको आधिकारिक तथ्यांकमा उल्लेख छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार आन्दोलनको दोस्रो दिन जलेको अवस्थामा फेला परेका १२ वटा शवको हालसम्म पनि पहिचान हुन सकेको छैन । उनका अनुसार नेपालभित्र डीएनए परीक्षणसम्बन्धी आवश्यक प्राविधिक क्षमता सीमित भएका कारण पहिचान प्रक्रियामा कठिनाइ भएको हो ।
प्रहरीका अनुसार पहिचान खुल्न नसकेका शवमध्ये पाँचवटा शवको कानुनी प्रक्रिया पूरा गरी अन्त्येष्टि गरिसकिएको छ । बाँकी सातवटा शव काठमाडौंस्थित टिचिङ अस्पताल काठमाडौंमा राखिएको हुन सक्ने अनुमान गरिएको छ ।
सुशासन स्थापना र भ्रष्टाचार अन्त्यको मागसहित देशभर आयोजना गरिएको दुईदिने प्रदर्शनका क्रममा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । उपलब्ध विवरणअनुसार २३ भदौमा २१ जना र २४ भदौमा ३८ जनाको मृत्यु भएको थियो । अन्य मृत्युका घटनाहरू विभिन्न परिस्थितिमा भएको बताइएको छ ।
प्रहरी स्रोतका अनुसार आन्दोलनका क्रममा गोली लागेर मृत्यु हुनेको संख्या करिब २० देखि २१ जनाको हाराहारीमा हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, यस विषयमा विस्तृत तथ्य सार्वजनिक गर्न हाल सम्भव नभएको र आधिकारिक निष्कर्ष जाँचबुझ आयोगको प्रतिवेदन पछि मात्र आउने प्रहरीले जनाएको छ ।

FACEBOOK COMMENTS