काठमाडौँ । भारतको झारखंडमा एयर एम्बुलेन्स दुर्घटनाग्रस्त हुँदा बिरामी, चिकित्सक र चालकदलसहित सातै जनाको मृत्यु भएको छ ।
राँचीबाट बिरामी बोकेर दिल्लीका लागि उडेको विमान प्राविधिक खराबीका कारण दुर्घटनामा परेको आशंका गरिएको छ ।
राँची विमानस्थलका निर्देशक विनोद कुमारका अनुसार सिमरिया नजिक दुर्घटना भएको हो । विमानमा क्याप्टेन विवेक विकास भगत, क्याप्टेन सवराजदीप सिंह, बिरामी सञ्जय कुमार (४१), उनकी पत्नी अर्चना देवी, सहयोगी धुरु कुमार, डा. विकास कुमार गुप्ता र प्यारामेडिकल कर्मचारी सचिन कुमार मिश्रा सवार थिए ।
राँचीस्थित देवकमल अस्पतालका सीईओ अनन्त सिन्हाले ६५ प्रतिशत जलेका सञ्जय कुमारलाई उन्नत उपचारका लागि दिल्ली लैजान एयर एम्बुलेन्सको व्यवस्था गरिएको जानकारी दिए । विमान सोमबार साँझ भारतीय समय अनुसार करिब ७:१० बजे उडेको र ७:३४ बजे कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क टुटेको थियो । त्यसपछि खोज तथा उद्धार समन्वय केन्द्र सक्रिय गरिएको थियो ।
स्थानीय बासिन्दाले सिमरिया क्षेत्रको घना जंगलमा विमान खसेको जानकारी दिएपछि प्रहरी र उद्धार टोली घटनास्थल पुगेका थिए । मोबाइलको बत्तीको सहारामा ग्रामीणले पहिलो पटक दुर्घटनास्थल पत्ता लगाएका थिए ।

भारतमा एक महिनाभित्र चार्टर्ड विमान दुर्घटनाको यो दोस्रो घटना हो । अघिल्लो महिना भएको चार्टड विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावरको मृत्यु भएको थियो ।

FACEBOOK COMMENTS