काठमाडौं । पूर्वसभामुख देवराज घिमिरेले महाकाली सन्धिसँग आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा फैलाइएको भ्रमप्रति असन्तुष्टि जनाउँदै स्पष्टीकरण दिएका छन् ।
शुक्रबार घिमिरेले सन्धि बारे गलत बुझाइ फैलाइएको उल्लेख गर्दै आफूले कुनै पनि सन्धिमा हस्ताक्षर नगरेको स्पष्ट पारेका छन् । उक्त समयमा आफू सांसद, मन्त्री वा राज्यको कुनै पदमा नरहेको उनले बताएका छन् ।
घिमिरेले केही व्यक्तिले जानाजानी भिडियो बनाएर गलत प्रचार गरिएको दाबी गर्दै पछि त्यसलाई राजनीतिक प्रचार सामग्रीका रूपमा प्रयोग गरिएपछि स्पष्टीकरण दिन बाध्य भएको बताए । सन्धिबारे पार्टीभित्र भएको बहसमा सहभागी हुनु बाहेक आफ्नो कुनै भूमिका नरहेको उनको भनाइ छ ।
उनले भनेका छन्– ’म स्पष्ट पार्न चाहन्छु – कुनै पनि सन्धिमा मैले हस्ताक्षर गरेको छैन । म उक्त समयमा सांसद थिइनँ, मन्त्री थिइनँ र राज्यको कुनै पनि ओहदमा थिइनँ । लोकतान्त्रिक पार्टीमा बहस र छलफल हुन्छ ।
पार्टीमा मेरो मत जाहेर गरेको हुँ । मसँगै थुप्रै नेताले पक्ष विपक्षमा बहस गरेका थियौं । भएको यत्ति हो । पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले कुनै हैसियतमा छिमेकी देशसँग सन्धि गर्दछ भन्ने पनि नबुझेको देख्दा मलाई साह्रै दिग्दारी लागेको छ ।’लामो समयदेखि राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै उनले राजनीति सेवा गर्ने माध्यम भएको र पद वा लाभका लागि राजनीति नगरेको समेत बताएका छन् ।



FACEBOOK COMMENTS