काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले टी–२० विश्वकपमा निराशाजनक प्रदर्शन गरेपछि राष्ट्रिय टोलीका खेलाडीमाथि कडा कारबाही गरेको छ ।
बोर्डले प्रत्येक खेलाडीलाई ५० लाख पाकिस्तानी रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको रिपोर्टमा उल्लेख छ ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार बोर्डका अधिकारीहरूले अबदेखि खेलाडीलाई आर्थिक सुविधा र बोनस केवल राम्रो प्रदर्शनका आधारमा मात्र दिइने स्पष्ट पारेका छन् ।
भारतविरुद्धको खेलमा हार व्यहोरेपछि नै यो निर्णय सुनाइएको जनाइएको छ । टोलीको प्रदर्शनप्रति समर्थकसँगै बोर्ड पदाधिकारी पनि असन्तुष्ट रहेका थिए । पीसीबीले राम्रो खेल्दा पुरस्कार र कमजोर प्रदर्शनमा सजाय दुवै हुने सन्देश दिएको छ ।
पाकिस्तान राष्ट्रिय टोलीका खेलाडीलाई चार श्रेणीमा मासिक तलब दिइन्छ । बी श्रेणीका खेलाडीले करिब ४५ लाख, सी श्रेणीले २० लाख र डी श्रेणीले १२.५ लाख पाकिस्तानी रुपैयाँ पाउँछन् । पछिल्लो सन् २०२५ जुलाईदेखि २०२६ जुनसम्मको सम्झौतामा कुनै पनि खेलाडीलाई ‘ए’ श्रेणीमा राखिएको थिएन । जरिवानापछि बी श्रेणीका खेलाडीको झन्डै एक महिनाको तलब कट्नेछ भने सी र डी श्रेणीका खेलाडीले दुईदेखि तीन महिनासम्मको तलब बराबर रकम बुझाउनुपर्ने भएको छ ।

प्रतियोगितामा पाकिस्तानले समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्सलाई कठिन जित निकालेको थियो । त्यसपछि अमेरिकालाई पराजित गरे पनि भारतसँग ६१ रनले हार व्यहोरेको थियो । अन्तिम समूह खेलमा नामिबियालाई हराउँदै टोली सुपर आठमा पुगेको थियो ।

सुपर आठ चरणमा न्यूजिल्यान्डविरुद्धको खेल वर्षाका कारण रद्द भयो भने इङल्याण्डसँगको खेलमा पाकिस्तान नजिकको अन्तरले पराजित भयो । श्रीलंकाविरुद्ध जित निकाले पनि कमजोर रनरेटका कारण न्यूजिल्यान्ड सेमिफाइनलमा पुगेको र पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको थियो ।

FACEBOOK COMMENTS