काठमाडौं । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले स्वास्थ्य बीमा कार्यक्रम र अस्पताल–आधारित फार्मेसीहरूमा स्वदेशी औषधिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। नेपाल औषधि उत्पादक संघ (एपन) को दशौँ संस्करणको एक्सपो कार्यक्रममा बोल्दै उनले स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्नु स्वास्थ्य प्रणाली सुदृढ बनाउन आवश्यक रहेको बताए।
’नेपाल चिकित्सक संघले लामो समयदेखि स्वास्थ्य बीमा कार्यक्रम र अस्पताल–आधारित फार्मेसीमा स्वदेशी औषधिलाई प्राथमिकता दिनुपर्छ भन्ने माग गर्दै आएको छ,’ उनले भने, ’सरकारले पनि स्वदेशी औषधि उद्योगबाट बल्कमा औषधि खरिद गर्ने विषय उठाएको सुन्दा सकारात्मक लागेको छ।’
’फार्मामा नवीनता, भोलिका लागि स्वास्थ्य” भन्ने नारासहित आयोजना गरिएको एक्सपो कार्यक्रममा बोल्दै डा. कार्कीले औषधि क्षेत्रमा प्रविधिगत नवीनतासँगै नियतको नवीनता पनि आवश्यक रहेको बताए। उनका अनुसार उत्पादक, प्रयोगकर्ता, चिकित्सक, प्रवद्र्धक तथा नियमन गर्ने निकायहरू (स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग र प्रयोगशालाहरू) सबैले सकारात्मक नियतका साथ काम गरे मात्रै औषधि क्षेत्रमा वास्तविक सुधार सम्भव हुन्छ।
औषधि उद्योगलाई प्रवद्र्धन गर्न नयाँ प्रविधिसँगै नयाँ उत्पादन र अनुसन्धानमा पनि ध्यान दिनुपर्ने उनले बताए। ’नेपालले पनि विश्वलाई नयाँ औषधि र अनुसन्धानका उपलब्धि दिन सक्ने सम्भावना राख्छ,’ उनले भने।
डा. कार्कीले स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै सरकारी नीतिहरूले स्वास्थ्य सेवालाई अझ सुलभ र पहुँचयोग्य बनाउनुपर्ने बताए। उनले हालै सवारी साधनमा लगाइएको उच्च कर घटाउने विषय चर्चामा आएको प्रसंग उल्लेख गर्दै नीतिगत निर्णय गर्दा त्यसबाट समाजका कुन वर्गलाई कति लाभ पुग्छ भन्ने विषयमा पनि ध्यान दिनुपर्ने बताए।

उनले औषधि उद्योगलाई प्रोत्साहन गर्न नयाँ उत्पादन, नयाँ प्रविधि तथा अनुसन्धानमा लगानी गर्ने उद्योगहरूलाई कर छुट जस्ता प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने धारणा राखे।

औषधिको मूल्यबारे चर्चा गर्दै डा. कार्कीले नेपालमा एक रुपैयाँमै सिटामोल उपलब्ध हुने अवस्था रहेको उल्लेख गरे। ’संसारमा एक रुपैयाँमा सिटामोल पाइने देश नेपाल मात्रै हो,’ उनले भने, ’तर त्यही सस्तो औषधि कहिलेकाहीँ अनौपचारिक बाटोबाट बाहिर जाने समस्या पनि छ।’

FACEBOOK COMMENTS