काठमाडौँ । विश्व चलचित्र क्षेत्रमा सबैभन्दा प्रतिष्ठित मानिने ओस्कार २०२६ को संस्करण १५ मार्चमा अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुँदैछ ।
नेपालमा भने यो समारोह १६ मार्च बिहान साढे चार बजेदेखि हेर्न सकिने बताइएको छ । हरेक वर्षझैँ यसपटक पनि दर्शकहरू समारोहको प्रतीक्षामा छन् ।
चलचित्र क्षेत्रको ठूलो सम्मान मानिने यस समारोहमा विगतमा केही विवादित घटनाहरू पनि भएका छन्, जसले निकै चर्चा पाएका थिए ।
सन् २०२२ को समारोहमा अभिनेता विल स्मिथले प्रस्तोता क्रिस रकलाई मञ्चमै थप्पड हानेपछि ठूलो विवाद भएको थियो । क्रिस रकले विल स्मिथकी श्रीमतीको टाउकोका बारेमा मजाक गरेपछि स्मिथ मञ्चमा गएर उनलाई थप्पड हानेका थिए । त्यसको केहीबेरपछि विल स्मिथले चलचित्र ‘किंग रिचर्ड’ का लागि उत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए र उनले मञ्चबाट माफी मागेका थिए ।
सन् २०२१ को समारोहमा फ्रान्सेली अभिनेत्री कोरिन मासेरियोले मञ्चमै कपडा उतारेपछि पनि विवाद भएको थियो । फ्रान्स सरकारको विरोध जनाउन उनले यस्तो कदम चालेकी थिइन्। पुरस्कार लिन मञ्चमा पुगेपछि उनले कपडा उतार्दा शरीरमा विभिन्न नारा लेखिएको देखिएको थियो ।

सन् २०१७ मा उत्कृष्ट चलचित्रको घोषणा गर्दा गल्ती भएको घटना पनि निकै चर्चामा रह्यो । सुरुमा चलचित्र ‘ला ला ल्यान्ड’ को नाम घोषणा गरिए पनि केही समयपछि वास्तविक विजेता चलचित्र ‘मूनलाइट’ भएको जानकारी दिँदै आयोजकले माफी मागेका थिए । सन् २००३ मा अभिनेता एड्रियन ब्रुडीले पुरस्कार ग्रहण गर्ने क्रममा अभिनेत्री हेल बेरीलाई मञ्चमै चुम्बन गरेपछि पनि विवाद भएको थियो । ब्रुडीले चलचित्र ‘दि पियानिस्ट’ का लागि उत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए ।

सन् २००० मा समारोह हुनुभन्दा करिब २० दिनअघि ५५ वटा अवार्ड बोकेको ट्रक चोरी भएको घटना पनि चर्चामा आएको थियो । त्यसपछि हतारमा नयाँ अवार्ड तयार पारिएको थियो । केही दिनपछि फोहोरको थुप्रोमा ५२ वटा अवार्ड भेटिए पनि बाँकी केही अझै हराइरहेका छन् । अर्को चर्चित घटना अभिनेता मार्लन ब्रान्डोसँग सम्बन्धित छ। उनले चलचित्र ‘अन द वाटरफ्रन्ट’ का लागि पाएको उत्कृष्ट अभिनेताको पुरस्कार पछि घरबाटै चोरी भएको थियो।

त्यस्तै ओस्कार पुरस्कार अभिनेता लियोनार्डो डिकाप्रियोलाई उपहारस्वरूप दिइएको थियो, तर धोखाधडीसम्बन्धी अनुसन्धानपछि उनले उक्त पुरस्कार अधिकारीलाई फिर्ता गर्नुपरेको थियो । त्यस्तै सन् २००० कै समारोहमा अभिनेत्री एन्जेलिना जोलीले रातो गलैँचामा आफ्नै भाइलाई सार्वजनिक रूपमा चुम्बन गरेपछि पनि ठूलो आलोचना भएको थियो। यी घटनाहरूका कारण पुरस्कार समारोह बेलाबेला विवाद र चर्चाको केन्द्रमा पर्ने गरेको छ।

FACEBOOK COMMENTS