काठमाडौँ । इरानमाथि २८ फेब्रुअरीमा पहिलो क्षेप्यास्त्र आक्रमण हुनुअघि नै चिनियाँ सामाजिक सञ्जालमा अमेरिकाले ठूलो सैन्य आक्रमणको तयारी गरिरहेको संकेत देखिन थालेको थियो । त्यसबेला इन्टरनेटमा अमेरिकी सैन्य तयारीसँग सम्बन्धित उपग्रह तस्बिरहरू तीव्र रूपमा फैलिएका थिए ।
ती तस्बिरहरूमा धावनमार्गमा उभिएका लडाकु विमान, मरुभूमिका विमानस्थलमा अवतरण गरिरहेका यातायात विमान र भूमध्यसागरमा विमानवाहक युद्धपोतको डेकमा तैनाथ लडाकु विमान देखिएका थिए । ती तस्बिरहरूमा असामान्य रूपमा धेरै विवरण दिइएको थियो र जानकारी अङ्ग्रेजी नभई चिनियाँ भाषामा लेखिएको थियो ।
सञ्चारमाध्यमका विवरणअनुसार तस्बिरहरूमा विभिन्न विमानका नाम, क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तथा सैनिक तैनाथीको स्थान स्पष्ट रूपमा चिनाइएको थियो । यी तस्बिरहरू एक चिनियाँ कृत्रिम बुद्धिमत्ता कम्पनीले अनलाइनमार्फत सार्वजनिक गरेको बताइएको छ । एउटा तस्बिरमा इजरायलको ओभ्दा हवाई अड्डामा अमेरिकी लडाकु विमान देखिएका थिए भने अर्को तस्बिरमा साउदी अरबको प्रिन्स सुल्तान हवाई अड्डामा बढ्दो सैन्य गतिविधि देखाइएको थियो ।
त्यसका साथै कतार, जोर्डन र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई पनि नक्सामा चिनाइएको थियो । यी सबै तस्बिर शाङ्घाईमा रहेको भू-स्थानिक सूचना विश्लेषण गर्ने कम्पनी मिजार भिजनले सार्वजनिक गरेको बताइएको छ । उक्त कम्पनीमा दुई सयभन्दा कम कर्मचारी कार्यरत रहेको जनाइएको छ ।
२८ फेब्रुअरीमा अमेरिका र इजरायलले संयुक्त रूपमा ‘अपरेसन एपिक फ्युरी’ अन्तर्गत इरानमाथि हवाई आक्रमण सुरु गरेका थिए। त्यसको जवाफमा तेहरानले क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो ।

यस संघर्षबीच इन्टरनेटमा लगातार उपग्रह तस्बिरहरू सार्वजनिक भइरहेका थिए, जसमा अमेरिकी विमान, क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तथा नौसैनिक गतिविधि देखाइएको थियो । ती सबै तस्बिर मिजार भिजनले साझा गरिरहेको बताइएको छ । जानकारीअनुसार पहिलो ठूलो तस्बिरहरूको समूह करिब २० फेब्रुअरीतिर सार्वजनिक भएको थियो ।

कम्पनीले सार्वजनिक गरेको उच्च स्पष्टताका तस्बिरहरूमा दक्षिणी इजरायलको ओभ्दा हवाई अड्डामा अमेरिकी विमान तैनाथी, साउदी अरब र कतारसहित मध्यपूर्वका विभिन्न देशमा लडाकु विमानको उपस्थिती, अरब सागरमा नौसैनिक गतिविधि तथा विमानवाहक युद्धपोतको आवतजावत देखिएको थियो । ती तस्बिरमा कृत्रिम बुद्धिमत्ताको प्रयोग गरी विमानको प्रकार, सहयोगी विमान र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीसमेत चिनाइएको थियो ।

१ मार्चसम्म आइपुग्दा थप नयाँ तस्बिरहरू सार्वजनिक भएका थिए। त्यसमार्फत जोर्डन, कुवेत, बहरेन र संयुक्त अरब इमिरेट्सका सैन्य अड्डाहरूको तस्बिर सार्वजनिक गरिएको थियो, जसमा विभिन्न विमान, हवाई प्रतिरक्षा प्रणाली र सैनिक तैनाथीको जानकारी दिइएको थियो ।

यी तस्बिरहरू सामाजिक सञ्जाल एक्स र चिनियाँ सञ्जाल वेइबोमा सटीक स्थान विवरणसहित साझा गरिएको थियो। तीमध्ये धेरै सामग्री चिनियाँ सरकारी सञ्चारमाध्यमसँग सम्बन्धित खाताहरू र चिनियाँ जनमुक्ति सेनासँग सम्बन्धित विश्लेषकहरूले पनि साझा गरेका थिए ।

उपग्रह तस्बिरहरूमा इजरायलको ओभ्दा हवाई अड्डामा सात वटा लडाकु विमान धावनमार्ग नजिक उभिएका र चार वटा धावनमार्गमा रहेको देखिएको थियो। करिब २४ घण्टापछि ‘अपरेसन एपिक फ्युरी’ सुरु भएको थियो ।
अन्य तस्बिरहरूमा साउदी अरबको प्रिन्स सुल्तान हवाई अड्डामा सात वटा हवाई चेतावनी तथा नियन्त्रण विमान र दुई वटा सञ्चार विमान तैनाथ रहेको उल्लेख गरिएको थियो । कतारको अल-उदीद हवाई अड्डाको तस्बिर पनि सार्वजनिक गरिएको थियो, जुन पछि इरानको क्षेप्यास्त्र र ड्रोन आक्रमणको निशाना बनेको थियो ।
कम्पनीले समुद्रमा अमेरिकी नौसेनाको गतिविधि पनि निगरानी गरेको तस्बिर सार्वजनिक गरेको थियो । त्यसमध्ये अमेरिकाको नयाँ विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर फोर्ड ग्रीसको क्रेट टापुस्थित नौसैनिक अड्डाबाट निस्किएको देखिएको थियो। त्यस्तै अर्को तस्बिरमा यूएसएस अब्राहम लिंकन विमानवाहक युद्धपोत अरब सागरमा ओमान नजिक आपूर्ति जहाजसँग भेटिएको देखिएको थियो ।
विश्लेषकहरूका अनुसार मिजार भिजनले विभिन्न सार्वजनिक स्रोतबाट प्राप्त जानकारी एकत्रित गरेर विश्लेषण गर्ने काम गर्छ । यसले व्यापारिक उपग्रह तस्बिर, विमान उडान निगरानी संकेत र जहाजको आवतजावत सम्बन्धी जानकारीलाई कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट विश्लेषण गरेर प्रस्तुत गर्ने गर्छ ।
उपग्रह तस्बिरहरूको स्रोत चिनियाँ जिलिन-१ उपग्रह सञ्जाल हुन सक्ने अनुमान गरिएको छ, जसले पृथ्वीको निगरानी गर्ने सयभन्दा बढी उपग्रह सञ्चालन गर्दछ। त्यस्तै पश्चिमी व्यापारिक उपग्रह कम्पनीहरूबाट पनि यस्ता तस्बिर उपलब्ध हुन सक्ने बताइएको छ ।
इरानले यी तस्बिरहरू आफ्नो आक्रमण निर्देशनका लागि प्रयोग गरेको ठोस प्रमाण भने अहिलेसम्म भेटिएको छैन । तर पहिले सार्वजनिक भएका केही सैन्य अड्डाहरू पछि इरानको क्षेप्यास्त्र र ड्रोन आक्रमणको निशाना बनेका थिए ।
जोर्डनको मुवाफक सल्ती हवाई अड्डामा रहेको एक उन्नत रडार प्रणाली नष्ट भएको पनि पछि सार्वजनिक उपग्रह तस्बिरबाट पुष्टि भएको बताइएको छ। यो रडार खाडी क्षेत्रमा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि अत्यन्त महत्वपूर्ण मानिन्थ्यो। रडार नष्ट भएपछि क्षेप्यास्त्र रोक्ने जिम्मेवारी मुख्यतः अन्य प्रतिरक्षा प्रणालीमा पुगेको बताइएको छ ।
FACEBOOK COMMENTS