काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वैदेशिक रोजगारीसम्बन्धी कसुरमा फरार रहेका सिन्धुली सुनकोशी गाउँपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–४, बालुवाटार बस्दै आएका ४४ वर्षीय शिवराज कार्की छन् ।
प्रहरी टोलीले उनलाई आज मंगलबार स्वयम्भूबाट पक्राउ गरेको जनाएको हो । पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट कार्कीविरुद्ध वैदेशिक रोजगार विभागमा विभिन्न मितिमा ठगीसम्बन्धी पाँचवटा मुद्दा दर्ता भएको खुलेको छ । उनले काठमाडौंमा पी एण्ड एम इन्नोभेटिभ सर्भिस नामक कन्सल्टेन्सी सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाइदिने भन्दै करिब २५० जनालाई ठगी गरेको प्रहरीको भनाइ छ । त्यसमध्ये हालसम्म १०० भन्दा बढी पीडितहरू सम्पर्कमा आएको पनि प्रहरीले जनाएको छ ।
यस्तै, उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दासमेत दर्ता भएको पाइएको छ । नेपालीहरूसँग रकम गठी गरेर उनले भारतको नयाँ दिल्लीस्थित पहाडगञ्ज क्षेत्रमा ‘अन्नपूर्ण फास्टफुड’ सञ्चालन गर्दै बसेको समेत खुलेको छ ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने यस्ता ठगीबाट सावधान रहन र आधिकारिक माध्यमबाट मात्रै प्रक्रिया अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

FACEBOOK COMMENTS