काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव मल्लविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानीमा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीबाट डेढ लाख रुपैयाँ घुस लिएको अभियोगमा उनीमाथि मुद्दा चलाइएको हो।
नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मल्लले वडा नं. ७ स्थित रम्भापुरमा निर्माण भएको चार कोठे विद्यालय भवनको नापजाँच गर्ने र अन्तिम बिल तयार/पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए।
सोही सूचनाका आधारमा अख्तियारको बुटवलस्थित कार्यालय र नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनलाई १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको थियो।
अख्तियारले गरेको अनुसन्धानका क्रममा इन्जिनियर मल्लले बदनियतपूर्वक घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध आज आरोपपत्र दायर गरिएको हो। आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार, मल्ललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ।

अख्तियारले मल्ललाई बिगो बमोजिम जरिवाना र कैद सजायको मागदाबी गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ।
