काठमाडौं – वैदेशिक रोजगारीबाट फर्किएका, उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार रहेका उद्योग व्यवसाय गर्न चाहानेले सरकारबाट सहुलियत ब्याजदरमा ऋण पाउने व्यवस्था कार्यान्यवनमा गएको छ ।
सरकारले आन्तरिक उत्पादन बढाउने लक्ष्यका साथ ५ प्रतिशतको सहुलियत ब्याजदरमा ५ करोडसम्म ऋण दिने व्यवस्था गरेको हो ।
यस्ता विभिन्न व्यवस्था गर्न बनेको ब्याज अनुदान सम्बन्धी कार्यविधि–२०७५लाई शुक्रबार मन्त्रिपरिषदले पास गरेको छ ।
कार्यविधिमा विदेशबाट फर्किएकालाई पनि सहुलियत दरमा ब्याज पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै शैक्षिक बेरोजगारलाई स्वरोजगारीका लागि पनि सस्तो ब्याजदरमा ऋण दिन सकिने व्यवस्था भएको छ ।
यी सबै खालका कार्यक्रम बजेटमार्फत घोषणा भएका थिए । त्यसलाई कार्यान्वयन गर्ने गरी कार्यविधि पारित भएको हो ।
५ वर्षका लागि दिइने यस्ता ऋणहरुको ब्याजदरको सीमा पनि सरकारले नै तोकिदिएको छ । बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा गर्नुपर्ने लगानीलाई यिनै कर्जाहरुमार्फत परिचालन गर्नेछन् ।
बैंकले ब्याजको आधार दरभन्दा दुई प्रतिशत बढी ब्याज तोक्न पाउने छैनन् । सरकारले यस्ता क्षेत्रमा ऋणहरू परिचालन गर्दा ब्याजमा ५ देखि ६ प्रतिशत अनुदान दिनेछ ।
यस्तो ऋणमा अतिरिक्त कुनै पनि शुल्क लिन नपाइने व्यवस्था भएको छ ।
FACEBOOK COMMENTS