काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व ऊर्जा आपूर्तिमा असर पारिरहेको स्ट्रेट अफ होर्मुज छिट्टै खुल्ने दाबी गरेका छन् ।
इरानको प्रभावकारी नाकाबन्दीका बीच उनले इरानको सहयोग भए पनि नभए पनि अमेरिका आफैँले यो मार्ग सञ्चालनमा ल्याउने बताएका हुन् ।
शुक्रबार पत्रकारसँग कुरा गर्दै ट्रम्पले अमेरिका र इरानबीच पाकिस्तानमा हुने शान्ति वार्ताअघि गल्फ क्षेत्र खोल्ने तयारी भइरहेको बताएको अल जजिराले जनाएको छ । उनले यो प्रक्रिया सहज नहुने स्वीकार्दै अन्य देशहरू पनि सहयोगका लागि तयार रहेको उल्लेख गरे ।
इरानले स्ट्रेट अफ होर्मुजबाट निस्कने जहाजबाट शुल्क उठाउने योजना बनाएको विषयमा ट्रम्पले कडा प्रतिक्रिया दिँदै ‘त्यो हुन दिइने छैन’ भनेका छन् । उनले कुनै पनि सम्झौतामा इरानसँग ‘परमाणु हतियार नहुने’ मुख्य सर्त हुने स्पष्ट पारे ।
युद्धविराम घोषणा भए पनि होर्मुजमा जहाज आवागमन ठप्पजस्तै छ, जसले विश्वको करिब पाँचौँ हिस्सा तेल र ग्यास आपूर्तिमा अवरोध पुर्याएको छ । सयौँ जहाजहरू अझै पनि खाडी क्षेत्रमा अलपत्र परेका छन् ।

शनिबार इस्लामावादमा अमेरिका र इरानबीच वार्ता हुने तय भएको छ, जसले दीर्घकालीन शान्ति स्थापनामा भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
