काठमाडौं, भदौ १० – ब्रोइलर कुखुराको मूल्य आधाले घटेपछि जिल्लाका कुखुरापालक किसान चिन्तित भएका छन्। कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रण गर्न भन्दै जिल्लाभर निषेधाज्ञा लागू भएपछि दुई सातादेखि बजार बन्द हुँदा कुखुराको मूल्य ह्वात्तै घटेको हो।
जिउँदो कुखुरा प्रतिकिलो २ सय ५० रुपैयाँ सम्ममा बिक्री हुँदै आए पनि अहिले मुस्किलले १३० रुपैयाँमा बिक्री भइरहेको छ। बागमती नगरपालिका–९ शंकरपुरका कुखुरा पालक किसान वीरबहादुर खड्काले गुनासो गरे, ‘अहिलेको मूल्यमा कुखुरा बिक्री गर्दा लागत उठाउनसमेत मुस्किल पर्छ।’
लकडाउनका आफूले मात्रै दुई लाख रुपैयाँ भन्दा बढी घाटा बेहोरेको खड्काले बताए। जिल्लाको उत्तरी क्षेत्रको तुलनामा पश्चिमी र दक्षिण भेगमा पर्ने बरहथवा, ईश्वरपुर लगायतका किसानहरु अझ कम मूल्यमा कुखुरा बिक्री गर्न बाध्य भएका छन्। आफूहरुको क्षेत्रमा जिउँदो ब्रोइलर कुखुरा किलोको १ सय १० रुपैयाँमा बिक्री भइरहेको बरहथवा नगरपालिका–५ का किसान ब्रम्हदेव महतोले बताए । ४५ दिनमा एउटा कुखुराले सातदेखि आठ किलोसम्म दाना खाने गरेको किसानले बताएका छन्।
महँगो मूल्यमा दाना किनेर खुवाएको कुखुरा अहिले सस्तो मूल्यमा बिक्री गर्नुपर्दा मेहनत र लागत नै नउठ्ने महतोले बताए । किसानले बन्दाबन्दीमै उत्पादन गरेको कुखुरा बजार क्षेत्रमा केही मात्रामा खुलेका मासु पसलमा कम र ग्रामीण भेगमा अत्यधिक खपत भइरहेको छ ।
जिउँदो कुखुरासँगै काटेको मासुको मूल्य पनि दिनहुँ घट्दै गइरहेको किसानहरुले गुनासो गरेका छन् ।
FACEBOOK COMMENTS