काठमाडौँ । सरकारले बागमती किनारका सुकुम्बासीलाई हटाउने भएको छ ।
काठमाडौ महानगरपालिका महानगर प्रहरी बल नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट थापाथली क्षेत्रको खोला किनारमा अनाधिकृत रूपमा निर्माण भएका घर टहराहरू हटाउन बिहीबार साँझ माइकिङ गरेर सूचना दिदै खालि गर्न सूचना दिएको हो ।
महानगरी प्रहरीले बृद्ध, महिला र अपांगता भएकालाई प्राथमिकता दिएर अन्यन्त्र सार्न निर्देशन दिएको छ । मार्किङ गर्ने कार्य भएको छ । शनिबार बिहान ६ बजेदेखि घर टहरा खाली गराउने काठमाडौँ महानगरीय प्रहरीले जानकारी दिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सरकारले शनिबार नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाउने अन्तिम तयारी गरेको छ ।
काठमाडौं उपत्यकाका नदी किनारमा अतिक्रमण गरी बस्ने सुकुम्बासी परिवारको संख्या बढेर ६ हजार पुगेको बताइएको छ । यसअघि सुकुम्बासीसम्बन्धी अध्ययन गर्न बनेको सरकारी कार्यदलको रिपोर्टक अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका २० वडाका २७ बस्तीमा ३ हजार ४९६ परिवार रहेका छन् । तर, अहिले यो संख्या झन्डै दोब्बरले बढेको बताइएको छ । हाल उपत्यकामा सुकुम्बासी परिवार ६ हजार भन्दा बढी रहेको र कुल जनसंख्या ४० हजार भन्दा बढी रहेको बताइएको छ ।

शनिबारदेखि डोजर चलाउने तयारी गरिएको थापाथली क्षेत्रमा मात्रै १४२ परिवार रहेका छन् । काठमाडौँ उपत्यकाका बागमती, गोदावरी, विष्णुमती, धोबीखोला, मनोहरा र बल्खु खोला किनारमा सुकुम्बासी बस्दै आएको पाइएको छ ।
