काठमाडौं । नेपाली काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई स्पष्टीकरण सोधेको छ ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा विभिन्न प्रदेशका मन्त्री तथा सांसदलाई पाँच दिनभित्र स्पष्टिकरण पेश गर्न पत्राचार गर्ने निर्णय गरेको हो ।
समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन् ।
स्पष्टीकरण सोधिएकामध्ये लुम्बिनी प्रदेशका वन मन्त्री तथा महासमिति सदस्य देवकरण प्रसाद कलवार (सन्तु), कोशी प्रदेशका पूर्व केन्द्रीय सदस्य तथा मन्त्री प्रदिप सुनुवार र लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने रहेका छन् । त्यसैगरी लुम्बिनी प्रदेशका उपसभापति तथा प्रदेश सभा सदस्य राजु खनाल, मधेश प्रदेशका प्रदेश सांसद जंगीलाल राय, सकुन्ती देवी महरा र कौशल किशोर रायलाई पनि स्पष्टीकरण सोधिएको छ ।

अनुशासन समितिले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको विषयलाई गम्भीर रूपमा लिँदै तोकिएको समयभित्र जवाफ पेश गर्न निर्देशन दिएको जनाएको छ।
