काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पूर्व-स्वीकृति विना (नियमविपरीत) भिडियो वा फोटो खिच्ने, अन्तर्वार्ताको नाममा भिडभाड गर्ने र उपचारमा खटिएका स्वास्थ्यकर्मीको काममा अवरोध पुर्याउने कार्यमा पूर्ण रोक लगाइएको छ ।
मन्त्रालयले बिरामीको गोपनीयता हनन हुने यस्ता गैरकानुनी कार्य गर्ने जो कोहीलाई ‘मुलुकी अपराध संहिता २०७४’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ बमोजिम कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई जानकारी गराइसकिएको जनाएको छ ।
उपचारको क्रममा कुनै कमी-कमजोरी भएको महसुस भएमा अस्पतालमा तोडफोड वा होहल्ला गर्नुको साटो सम्बन्धित निकायमा तथ्यपरक उजुरी दिन सबै सरोकारवालालाई मन्त्रालयले आग्रह गरेको छ ।