काठमाडौ । राधास्वामी आश्रममा रहेका मध्ये ४ जनाको मोतीविन्दुको शल्यक्रिया गर्न काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसी लाई निर्देशन दिएकी थिइन् ।
वैशाख २० गते आँखा परीक्षण तथा उपचार शिविरमा जाँच गराइएका मध्ये मोतीविन्दु भएका विरामीलाई तत्काल शल्यक्रिया गर्न उनले निर्देशन दिइन् । यस आश्रममा काठमाडौँका नदी किनाराको अव्यवस्थित बसोबास खाली गराउने क्रममा आफूलाई भूमिहीन भनेर लगत टिपाउने परिवारलाई राखिएको छ ।
यसअघि थापाथली, गैरीगाउँ, मनोहरालगायतका नदी किनारामा बसोबास गर्ने व्यक्तिहरुलाई यस ठाउँमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।
आश्रम व्यवस्थापनको निरीक्षणका लागि प्रवक्ता नविन मानन्धरसहित कीर्तिपुर आश्रममा पुगेका भएका बेला डंगोलसँग त्यहाँ रहेका भूमिहीन ज्येष्ठ नागरिकहरुले आँखा धमिलो देख्ने गरेको अवस्था सुनाउँदै उपचार गराइदिन, औषधि दिन माग गरेका थिए ।
उनीहरुको माग लगत्तै कार्यवाहक प्रमुख डंगोलले, स्वास्थ्य विभागलाई आँखा परीक्षणको प्रबन्ध गर्न स्वास्थ्य विभागलाई निर्देशन दिइन् । उनको निर्देशन पछि नेपाल आँखा अस्पतालसँग सहकार्य गरेर वैशाख २० गते आइतबार आँखा जाँच तथा उपचार शिविर आयोजना गरिएको स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीले जानकारी दिए ।

शिविरमा बालबालिका, युवा, प्रौढ र ज्येष्ठ नागरिक सबै उमेर समूहका व्यक्तिहरुको आँखा जाँच गरिएको थियो । अस्पतालका सामुदायिक कार्यक्रम संयोजक राम केसीका अनुसार जाँच गरिएकामध्ये ४ जनाको शल्यक्रिया गर्नु पर्ने अवस्था छ । यस्तै ११ जनालाई नजिकका अक्षर पढ्न चाहिने चस्माको आवश्यकता छ । आँखा खुक्सा हुने समस्या धेरैमा देखिएको छ ।
