काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राम्रो रोजगारीको प्रलोभनमा पारेर भारतको बिहार लगिएका १४ देखि १७ वर्ष उमेर समूहका ६ जना नेपाली किशोरकिशोरीको उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दुताबासका अनुसार उद्धार गरिएकामध्ये ३ जना बालक र ३ जना बालिका रहेका छन् । उनीहरूलाई भारतस्थित किन इन्डियासँगको समन्वयमा उद्धार गरी सोमबार सुरक्षित रूपमा नेपाल फर्काइएको दुताबासले जनाएको छ ।
२- नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतले विना कारण रिट दर्ता नगर्नु न्याय मार्गमा अवरोध पुर्याउने कार्य भएको टिप्पणी गरेको छ । सोमबार बसेको नेपाल बारका पदाधिकारीको आकस्मिक बैठकले न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत पालना नगरेर सर्वोच्च प्रशासनले असाधारण र अप्राकृतिक ‘रबैया’ देखाएको बताएको हो ।
बारले भनेको छ- ‘न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधानन्यायाधीशको आदेश समेत अपालन गर्ने प्रशासनको रवैया असाधारण र अप्राकृतिक मात्र होइन यो अभिलेखीकरण हुने, विस्मृतीमा नजाने ऐतिहासिक भूल एवम् प्रचलित कानून आकर्षित हुने घटना समेत हो भन्ने हाम्रो प्रष्ट धारणा छ ।’ साथै अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल गर्न बन्देज गर्ने प्रावधान संविधानको धारा १०५ मा लेखिएको विषयलाई नजरअन्दाज गरी सोमबार संसदको बैठकमा छलफल गरिएको विषय पनि अत्यन्त दुःखद् रहेको बारले उल्लेख गरेको छ ।
साथै बारले मंगलबार दिउँसो बारको प्रांगणमा लालटीन बालेर अदालत प्रशासनको व्यवहारको विरोध गर्ने जनाएको छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सोमबार सर्वोच्च प्रशासनलाई रोकिएका रिट निवेदनहरू दर्ता गर्न लिखित आदेश दिएपनि उक्त समय सीमाभित्र सर्वोच्च प्रशासनले निवेदन दर्ता गरेको छैन । रिट निवेदकहरू रिट लिएर सर्वोच्च प्रशासन पुगेपनि मुख्य रजिस्ट्रार विमल पौडेल र रजिष्ट्रारहरू भद्रकाली पोखरेल र मानबहादुर कार्की कार्यालयबाट बाहिरिएपछि न्याय क्षेत्रमा नयाँ विवाद शुरु भएको छ ।

३- नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । सोमवार भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता नविकरण गर्ने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । त्यस्तै आजको बैठकमा पदाधिकारीको वरियता र कार्यविभाजन, निर्वाचनको समिक्षा कार्यदल बनाउने र सरकारका काम बारे समिक्षा भएको भट्टले जानकारी दिए । अब अर्को बैठक जेठ ८ गते बस्ने उनले बताए ।

४- अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लिएर दिएको कडा चेतावनीपछि बजारमा अनिश्चितता बढ्दा तेलको मूल्य उकालो लागेको हो । ट्रम्पले इरानसँग शान्ति सम्झौताको लागि समय सीमित रहेको संकेत गर्दै समय तीव्र गतिमा सकिँदै गएको बताएका थिए । त्यसपछि सोमबार ब्रेन्ट क्रुड तेल प्रति ब्यारेल ११०.७२ अमेरिकी डलरसम्म पुगेको थियो ।

त्यस्तै अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड तेल प्रति ब्यारेल १०७.२८ डलरमा कारोबार भएको देखिएको छ । विश्लेषकहरूका अनुसार ब्रेन्ट क्रुडको मूल्य अमेरिका–इजरायल र इरानबीच तनाव सुरु हुनुअघिको तुलनामा ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ । विशेषज्ञहरूले ट्रम्पको भनाइपछि पश्चिम एसियामा तनाव अझ बढ्न सक्ने आशंका बलियो बनेको बताएका छन्। यसले विश्वव्यापी तेल आपूर्तिमा जोखिम थपिएको उनीहरूको मूल्याङ्कन छ । दीर्घ समयसम्म तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि रह्यो भने विश्वव्यापी महँगी, ढुवानी लागत र आर्थिक वृद्धि सबैमा नकारात्मक असर पर्न सक्ने चेतावनी पनि विश्लेषकहरूले दिएका छन् ।
५- सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो । समितिका अनुसार कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारी ७ जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । समितिका अनुसार आज पहिलो दिन थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिए पनि अब क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिने छ । समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् ।
पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने काम समेत तीव्र रूपमा भइरहेको बताइन् । उनका अनुसार समस्याग्रस्त सहकारीका ऋणहरूको नाममा सार्वजनिक भएपछि अहिले ऋणीहरूले ऋणी फिर्ता गर्न लागेका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार अहिले समस्याग्रस्त सहकारीका ऋणीहरूले २ करोड भन्दा बढी ऋण फिर्ता गरेका छन् । ऋणी असुली र बचत फिर्ता सँगसँगै अघि बढ्ने समितिले जनाएको छ ।
६- पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्हो पुनः स्पेनिस क्लब रियल म्याड्रिडको मुख्य प्रशिक्षक बन्ने भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोरिन्हो र रियल मड्रिडबीच मौखिक सहमति भइसकेको छ । रियल म्याड्रिडले लगातार दोस्रो वर्ष प्रशिक्षक परिवर्तन गर्न लागेको हो । जनवरीमा जावी आलोन्सोको स्थानमा आएका आल्भारो अर्बेलोआलाई क्लबले निरन्तरता नदिने निर्णय गरेपछि मोरिन्होलाई नयाँ प्रशिक्षक बनाउने प्रक्रिया अघि बढाइएको हो ।
रिपोर्टअनुसार क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजले गत महिनादेखि नै मोरिन्होलाई प्राथमिक रोजाइमा राखेका थिए । पछिल्ला केही दिनयता दुवै पक्षबीच औपचारिक छलफल तीव्र बनेको थियो । मोरिन्होले पनि १३ वर्षपछि पुनः रियल म्याड्रिड फर्कने इच्छा स्पष्ट रूपमा व्यक्त गरेका थिए । उनले आगामी साता एथलेटिक क्लबविरुद्धको सिजनको अन्तिम खेलपछि म्याड्रिड पुगेर दुई वर्षको सम्झौतामा हस्ताक्षर गर्ने बताइएको छ । उनले रियल म्याड्रिडमा शुरुमा दुई बर्षको सम्झौता गर्न लागेको बताइएको छ ।
सन् २०२४ मा च्याम्पियन्स लिग जितेपछि रियल म्याड्रिडले कुनै ठूलो उपाधि जित्न सकेको छैन । कार्लो एन्सेलोटी, जाभी आलोन्सो र आल्भारो अर्बेलोआ गरी तीन प्रशिक्षक परिवर्तन भए पनि क्लबले अपेक्षित सफलता हासिल गर्न सकेन । यसबीच क्लबभित्र आन्तरिक तनाव पनि बढ्दै गएको बताइएको छ । केही साताअघि औरेलियन चुआमेनी र फेडे भाल्भेर्डेबीच विवाद भएपछि टोलीभित्रको अवस्था थप तनावपूर्ण बनेको थियो । रियल म्याड्रिड व्यवस्थापनले मोरिन्हो टोलीलाई पुनः एकताबद्ध गर्दै सफलताको बाटोमा फर्काउन सक्षम प्रशिक्षक हुने विश्वास गरेको छ । मोरिन्हो हाल पोर्चुगलको क्लब बेनिफिकाको प्रशिक्षक रहेका छन् । उनी यसअघि २०१० देखि २०१३ सम्म रियल म्याड्रिडको प्रशिक्षक थिए । उनी त्यति बेला प्रशिक्षक हुदा २०११-१२ को ला लिगाको उयाधिसहित एक कोपा डेल रे र स्पेनको सुपर कोपाको उपाधि जितेका थिए ।
७- रूपन्देहीको मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ । जग्गाको नयाँ श्रेस्ता कायम गर्ने तथा नामसारी गर्ने काम गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। सेवाग्राहीबाट लिइसकेको अवस्थामा दुई लाख नगदसहित उनलाई पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा खाम्चाले जिर्ण श्रेस्ता कायम गर्ने, अपुताली जग्गा नामसारी तथा दाखिल खारेजलगायतका काम गरिदिने भन्दै सेवाग्राहीसँग मोलमोलाई गरी उक्त रकम लिएको पुष्टि भएको आयोगले जनाएको छ। प्रमाणसहित दोषी देखिएपछि उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाही अघि बढाइएको छ। आयोगले उनलाई बिगो बराबरको जरिवाना र कैद सजायको माग गर्दै आज काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
८- नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभाको गरिमामय उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएको छ । जेनेभास्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो । महासभाको सोही सत्र अन्तर्गत आजै नेपालको तर्फबाट मन्त्री निशा मेहताको वक्तव्य समेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
९- परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका अमृत झासम्बन्धी विषयमा इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा रिहा भएको अनौपचारिक सूचना सार्वजनिक गरिएको विषयमा क्षमायाचना गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै इरानको केश्म टापुमा अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा पक्राउ परेका नेपाली नागरिक अमृत झासम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयले स्पष्टिकरण दिदै यसअघि रिहा भएको विषय मन्त्रालयले सार्बजनिक गरको विषयमा क्षमायाचना गरेको हो । झा हाल इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेको मन्त्रालयले स्पष्ट गरेको छ । मन्त्रालयका अनुसार अमेरिका–इजरायल र इरानबीच २०२६ फेब्रुअरी २८ मा द्वन्द्व सुरु हुनुअघि नै सन् २०२६ जनवरीको सुरुआतमै अमृत झासहित अन्य ६ जना विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीले केश्म टापुबाट नियन्त्रणमा लिएका थिए ।
परराष्ट्र मन्त्रालयले २०२६ अप्रिल १५ मा इरानका लागि नेपाली अवैतनिक वाणिज्यदूत शहराम शान्तियाईले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई अमृत झा रिहा भएको जानकारी पठाएको जनाएको छ । उक्त जानकारी सम्बन्धित महाशाखामार्फत परराष्ट्रमन्त्री र सचिवलाई जानकारी गराइएको थियो । मन्त्रालयका अनुसार त्यतिबेला इरानको जटिल अवस्थाबीच नागरिकको अवस्थाबारे चासो बढेको र सञ्चारमाध्यम तथा परिवारबाट समेत लगातार जानकारी मागिएको अवस्थालाई ध्यानमा राख्दै अमृत झा रिहा भएको अनौपचारिक जानकारीका आधारमा मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो । त्यसकै आधारमा परराष्ट्र मन्त्रीले पनि सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गरेका थिए । मन्त्रालयले झालाई नेपाल फर्काउने प्रक्रिया अघि बढाउन दोहास्थित नेपाली दूतावासलाई रिहाइसम्बन्धी लिखित प्रमाण जुटाउन निर्देशन दिएको जनाएको छ ।
तर केही दिनपछि प्राप्त विवरणअनुसार अमृत झा रिहा नभएको र सम्बन्धित मुद्दामा अदालतले विज्ञ प्रतिवेदन तयार गर्न आदेश दिएको खुलाइएको छ । मन्त्रालयले पछि अमृत झाको परिवारलाई मन्त्रालयमा बोलाएर सम्पूर्ण वास्तविक अवस्था जानकारी गराइएको पनि जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो अवस्थामा विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । इरानको कानुनअनुसार अदालतले मुद्दाको टुंगो लगाउने भएकाले अमृत झाको निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल निरन्तर जारी रहेको मन्त्रालयले जनाएको छ ।
१०- नेप्सेमा आज सामान्य गिरावट भएको छ । आज सोमबार नेप्से १.०३ अंकले घटेर २७३०.९१ विन्दुमा पुगेर रोकिएको छ । आज ३३९ कम्पनिका ५८ लाख २८ हजार ६०४ कित्ता शेयर २ अर्ब ४५ करोड ८ लाख ७८ हजार ४४९ मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंक, हाइड्रो, लगानी र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी इन्ह्वा हाइड्रोको शेयर ८.४२ प्रतिशतले बढेको छ भने बुन्गल हाइड्रोको शेयर ६.३२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी निफ्रा उर्जा ऋणपत्रको शेयर ५.२६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी साहस उर्जाको ८ करोड ४३ लाखको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको ७ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।
११- नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ । सोमबार आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य पाएको नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित ७४ रन बनाएका थिए भने इशान पाण्डेले ५५ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले २९ र कुशल भुर्तेलले २८ रन बनाएका थिए । त्यसैगरी स्कटल्याण्डका बलर मार्क वाटले २ विकेट लिए भने ब्राण्डन म्याकुलेनले एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ३९. १ ओभरमा अल आउट हुदै १९४ रन बनाएको थियो । स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलेनले सर्बाधिक ७३ रन बनाएका थिए भने माइकल इङलिशले ५१ रन बनाएका थिए । त्यस्तै नेपाली बलर ललित राजबंशीले सर्बाधिक ४ विकेट लिएका थिए भने सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । सन्दीपले ७३ खेलमा १५० विकेट पुरा गर्दै नयाँ किर्तिमान समेत बनाएका थिए । त्यस्तै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले एक एक विकेट लिएका थिए । यो जित पछि नेपालको लिग- २ मा २७ खेलमा २२ अंक भएको छ र नेपाल पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै स्कटल्याण्डको भने ३१ खेलमा ३८ अंक रहेको छ र शिर्ष स्थानमा उक्लिएको छ ।
१२- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको जेठ २ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार परालको आगो, लालिबजार, मालती मंगले र गुरु आमाको बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ । जस अनुसार बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म परालको आगोले बक्स अफिसमा दर्शकलाई आकर्षित गरेको देखिएको छ । यस फिल्मले अहिलेसम्म ४ करोड २२ लाख २३ हजार ४३५ कमाई गरेको छ । त्यस्तै यस फिल्मका एक लाख ५१ हजार ९२८ तिक्त बिक्रि भएका छन् । त्यस्तै बैशाख २५ गतेदेखि प्रदर्शन भएको लाली बजारले पनि बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले करोड ४२ लाख ६१ हजार ७७९ कमाई गरेको छ । त्यस्तै यस फिल्मले एक लाख १४ हजार ४८६ टिकट बिक्री गरेको छ ।
त्यसैगरी बैशाख २५ गते नै प्रदर्शनमा आएको रामकृष्ण ढकालले निर्माण गरेको फिउल्म मालती मंगलेले भने आशा गरे अनुसार दर्शकको मन जित्न सकेको देखिएको छैन । फिल्मले केवल ४४ लाख ७८ हजार ६०८ कमाई गरेको छ भने केवल १३ हजार ८९० टिकट बिक्री भएको छ । त्यस्तै बैशाख २५ गते बी रिलिज भएको फिल्म गुरु आमाले २८ लाख ४४ हजार ४५१ कमाइ गरेको छ । यस फिल्मले ८ हजार ९७४ टिकट बिक्री गरेको छ ।
१३- प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिटको विषय उठेको छ । सोमबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद यज्ञमणि ढकाल र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसविरुद्ध परेको रिट दर्ता गर्न दिने आदेशको विषयमा प्रश्न उठाएका हुन् । सांसद न्यौपानेले मल्लको आदेश कुन इजलास हो भन्ने प्रश्न गर्दै अदालत आफ्नो सीमामा बस्न चेतावनी दिएका थिए । अदालतको सक्रियता मुद्धा फैसलामा नभएको तर स्वार्थको द्वन्द हुने किसिमका घटना हुन्छनकी भन्ने डर उत्पन्न भएको बताएका छन् । त्यस्तै रास्वपा सांसद बास्कोटाले न्यायालयलाई ध्यानाकर्षण गराउदै कामु प्रधानन्यायाधीशले दरपिठ भएका रिट दर्ता गर्न आदेश दिनु कति ठिक हुन्छ, यो विषय संसदमा छलफल हुनुपर्ने बताएकी थिइन् ।
रास्वपा सांसदहरुले अदालतको विषयमा संसदमा कुरा उठाएपछि एमाले सांसदहरू गुरु बराल, ऐन महर, मोहम्मद इतियाक राईलगायत सांसद उठेर आपत्ति जनाएका थिए । सांसद महरले निरन्तर विरोध जनाएपछि सभामुखले सांसद महरलाई बोल्न समय दिएका थिए । उनले अदालत र विचाराधीन मुद्दाको विषयमा संसद्मा बहस गर्न नपाइने संबिधानमै उल्लेख गरेको भन्दै आपत्ति जनाए ।
१४- सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस मनोज शर्माले आफूविरुद्धका निवेदन दर्ता नगर्न प्रशासनलाई निर्देशन दिएको खुलासा भएको छ । सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशमा रिट दर्ता नगरिएको विषयमा मुख्य रजिस्ट्रार विमल पौडेलले प्रधानन्यायाधीशमा सिफारिस शर्माले दर्ता नगर्न निर्देशन दिएको बताएको उल्लेख गरेकी हुन् ।
उनले भनेकी छन्- ‘ यस सम्बन्धमा सम्पुन्र माननीय न्यायाधीशहरु समक्ष मुख्य रजिष्ट्रारको ध्यानाकर्षण गराउदा प्रधानन्यायाधीश सिफारिश माननीय न्यायाधिशले नै निर्देशन दिनु भएकोले नगरेको भन्ने कुरा जानकारी गराउनु भयो ।’ प्रधानले आजै दिउँसो १ बजेभित्र सबै रिट निवेदन तथा दरपीठ आदेश उपरको निवेदनसमेत दर्ता गरी मंगलबार पेसी चढाउन आदेश दिएकी छन् । मल्लले लिखित आदेशमा भनेकी छन्- ‘कानुनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्यायप्राप्तिको बाटाको अवरोध र अदालतका जनआस्थामाथिको अविश्वास बढाउने व्यवहार एवं प्रयास हुने देखिन्छ ।’ संवैधानिक परिषद्ले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वोच्चमा दिएको रिट सर्वोच्च प्रशासनले सुरुमा दरपिठ गरेको थियो ।
१५- मलेसियाका लागि नेपाली कामदारको स्वास्थ्य परीक्षणसम्बन्धी जैविक चिकित्सा प्रणाली कार्यान्वयनबारे मलेसिया दूतावासले स्पष्टिकरण दिएको छ । काठमाडौँस्थित मलेसियाली दूतावासले सन् २०१८ अक्टोबर २९ मा नेपाल र मलेसिया सरकारबीच भएको कामदार भर्ना, रोजगारी तथा स्वदेश फिर्तासम्बन्धी समझदारीअनुसार नेपाली कामदारको स्वास्थ्य परीक्षण जैविक चिकित्सा प्रणालीमार्फत सञ्चालन भइरहेको जनाएको हो । दूतावासका अनुसार उक्त समझदारीमा मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि ३६ वटा स्वास्थ्य संस्थालाई अनुमति दिइएको छ ।
नेपाल सरकारले तोकेको शुल्कबाहेक मलेसिया सरकारले थप ३ हजार रुपैयाँ सेवा शुल्क निर्धारण गरेको जनाएको छ । समझदारीमा जैविक चिकित्सा प्रणालीसम्बन्धी सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्नुपर्ने व्यवस्था रहेको दूतावासले उल्लेख गरेको छ । दूतावासले म्याक्रो टेक प्रालि र बेस्टिनेट कम्पनीलाई नेपालमा जैविक चिकित्सा प्रणाली कार्यान्वयन, शुल्क संकलन तथा कानुनी रूपमा रकम पठाउने जिम्मेवारी दिइएको जनाएको छ । दूतावासका अनुसार दुवै कम्पनीले नेपाल र मलेसिया सरकारबीच भएको सहमतिअनुसार नै काम गर्दै आएको स्पष्ट गरेको छ । यसअघि नेपाल सरकारले श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीमा सिण्डिकेट अन्त्य गरेको दाबी गर्दै २०८२ चैत १७ गते मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाहरूलाई निवेदन दिन आह्वान गरेको विषयलाई मलेसियाले चुनौती दिएको छ ।
१६- अमेरिका र इरानबीच शान्ति प्रक्रिया अगाडि बढाउने विषयमा अमेरिकाले पाँच ठूला सर्त राखेको दाबी गरिएको छ । इरानको सरकारी समाचार संस्था फार्सले सार्वजनिक गरेको रिपोर्टमा यस्तो उल्लेख गरिएको हो । रिपोर्टअनुसार अमेरिकाले इरानमाथि गरिएको बमबारीबाट भएको क्षतिको कुनै क्षतिपूर्ति नदिने स्पष्ट पारेको छ । साथै अमेरिकाले इरानसँग रहेको ४०० किलोग्राम समृद्ध युरेनियम आफूलाई बुझाउन माग गरेको बताइएको छ ।
अमेरिकाले इरानमा एउटा मात्र आणविक केन्द्र सञ्चालनमा राख्नुपर्ने सर्त पनि अघि सारेको रिपोर्टमा उल्लेख छ । त्यसैगरी इरानका विदेशमा रोक्का गरिएका सम्पत्तिमध्ये २५ प्रतिशतभन्दा बढी रकम फुकुवा गर्न अमेरिका तयार नरहेको जनाइएको छ । रिपोर्टमा वासिङ्टनले लेबनानसहित सबै मोर्चामा जारी द्वन्द्व अन्त्य गर्ने विषय वार्तामार्फत समाधान गर्न चाहेको उल्लेख गरिएको छ । यद्यपि यी सर्तबारे अमेरिका वा इरान दुवै पक्षबाट आधिकारिक पुष्टि भने भएको छैन । यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् ।
उनले छिट्टै सम्झौता नगरे इरानसँग केही पनि बाँकी नरहने बताएका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्- ‘इरानका लागि समय तीव्र गतिमा बितिरहेको छ । उनीहरूले धेरै चाँडै निर्णय लिनुपर्छ, नत्र उनीहरूसँग केही पनि बाँकी रहने छैन । समय अत्यन्त महत्वपूर्ण छ ।’ अमेरिका र इरानबीच आणविक कार्यक्रम, प्रतिबन्ध तथा युद्ध क्षतिपूर्तिसम्बन्धी वार्ता पुनः अवरुद्ध भएको अवस्थामा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । इरानले भने जवाफमा इरानले क्षेत्रीय सैन्य गतिविधि रोकिए, प्रतिबन्ध हटाइए र रोक्का गरिएका सम्पत्ति फुकुवा गरिएपछि मात्रै वार्तामा बस्ने बताएको छ । इरानी राष्ट्रपति मसुद पेजेशकियानले अमेरिका र इजरायलले इरानलाई अस्थिर बनाउन प्रयास गरिरहेको आरोप लगाएका छन् ।
१७- नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले भदौ २३ र २४ गते भएको नरसंहार तथा विध्वंशात्मक घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग र सोहि घटनामा राष्ट्रिय मानव अधिकार आयोगले तयार गरेको प्रतिवेदन छानबिन गर्न माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले दुवै प्रतिवेदन सरकारले बुझिसकेको भए पनि अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका हुन् ।
केसीले भदौ २३ देखि २६ गतेसम्म भएका हिंसात्मक घटनाको अध्ययन तथा अनुसन्धान गर्न लिली थापाको संयोजकत्वमा तयार पारिएको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन अझै सार्वजनिक किन नगरिएको हो भन्दै प्रश्न गरेका छन् । उनले उक्त प्रतिवेदन तत्काल सार्वजनिक गरी संसदका सबै सदस्यलाई उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सांसद केसीले यस्ता गम्भीर प्रकृतिका घटनामाथि बनेका प्रतिवेदन गोप्य राखिनु लोकतान्त्रिक मूल्य मान्यता र पारदर्शिता विपरीत हुने बताए ।
१८- नेपाली स्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् । सन्दीपले स्कटल्याण्डविरुद्ध २ विकेट लिएसँगै एकदिवसीय क्रिकेटमा छिटो १५० विकेट लिने नयाँ किर्तिमान बनाएका हुन् । सन्दीपले ७३ खेलमा १५० विकेट पुरा गरेका छन् ।एकदिवसीय क्रिकेटमा यसअघि यो रेकर्ड अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा रहेको थियो । स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए । त्यस्तै पाकिस्तानका सक्लिन मुस्ताकले ७८ खेलमा, अफगानिस्तानका रशिद खानले ८० खेलमा र न्यूजील्याण्डका ट्रेन्ट बोल्टले ८१ खेलमा १५० विकेट लिएका थिए । सन्दीपको नाममा छिटो सय विकेट लिने किर्तिमान समेत रहेको छ । सन्दीपले ४२ खेलमा एकदिवसीय खेलमा सय विकेट लिएका थिए । त्यस्तै रसिद खानले ४४ खेलमा सय विकेट पुरा गरेका थिए ।
१९- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२ चैत मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जाको आकार उल्लेख्य रूपमा बढेको छ । चैत्र मसान्तसम्मको तथ्यांकअनुसार कुल निक्षेप जीडीपी अनुपात १२९. ६५ प्रतिशत पुगेको छ भने कुल कर्जा जीडीपी अनुपात ९६.७३ प्रतिशत कायम भएको छ । कुल निक्षेपको तुलनामा कुल कर्जा अनुपात ७४. ६१ प्रतिशत रहेको छ ।
बैंकिङ प्रणालीमा खराब कर्जा अर्थात् निष्क्रिय कर्जा कुल कर्जाको ५. ६० प्रतिशत पुगेको छ । यस्तै कुल कर्जामा कर्जा नोक्सानी व्यवस्था अनुपात ५.९२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । तरलता अवस्थातर्फ हेर्दा कुल निक्षेपको तुलनामा तरल सम्पत्ति अनुपात ३५. ३७ प्रतिशत पुगेको छ । त्यस्तै सरकारी ऋणपत्रमा गरिएको लगानी कुल निक्षेपको १४. ८९ प्रतिशत रहेको छ । पूँजी पर्याप्तता सूचकमा कोर क्यापिटल अनुपात ९. ७२ प्रतिशत र कुल पूँजी पर्याप्तता अनुपात १२. ६२ प्रतिशत कायम रहेको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार हाल देशभर ५४ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् । ती संस्थाका शाखा संख्या ६ हजार ४१९ पुगेका छन् । बैंकिङ पहुँच विस्तारसँगै निक्षेप खाताको संख्या ६ करोड २४ लाखभन्दा बढी पुगेको छ भने ऋण खाताको संख्या २० लाख ४४ हजारभन्दा धेरै रहेको छ । मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ९७ लाख ७५ हजारभन्दा बढी पुगेका छन् । इन्टरनेट बैंकिङ प्रयोगकर्ता २४ लाखभन्दा बढी छन् । एटिएम मेसिन संख्या ५ हजार १७४ पुगेको छ । डेबिट कार्ड प्रयोगकर्ता १ करोड ३८ लाखभन्दा बढी रहेका छन् भने क्रेडिट कार्ड संख्या ३ लाख २९ हजारभन्दा बढी पुगेको छ । ब्याजदरतर्फ औसत निक्षेप ब्याजदर ३.४० प्रतिशत कायम भएको छ । बचत निक्षेपमा औसत ब्याजदर २.९० प्रतिशत, मुद्दती निक्षेपमा ५.०९ प्रतिशत र कल निक्षेपमा ०.६७ प्रतिशत रहेको छ । यस्तै औसत कर्जा ब्याजदर ६.७७ प्रतिशत कायम भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
२०- दिल्ली क्यापिटल्सले जारी आइपिएलमा राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १९४ रनको लक्ष्य पछाएको दिल्लीले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । दिल्लीको जितमा केएल राहुलले सर्बाधिक ५८ रन बनाए भने अभिषेक पोरेलले ५१, कप्तान अक्सर पटेलले ३४ र आशुतोष शर्माले १८ रन बनाएका थिए ।त्यस्तै राजस्थानका बलर जोफ्रा आर्चर र बृजेश शर्माले २-२ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउदै १९३ रन बनाएको थियो । राजस्थानका लागि ध्रुव जुरेलले ५३ रन बनाए भने कप्तान रियान परागले ५१ तथा वैभव सुर्यबंशीले ४६ रन बनाएका थिए ।
त्यस्तै दिल्लीका बलर मिचेल स्ट्राकले ४ विकेट लिए भने लुंगी एंगीडी र माधव तिवारीले २-२ विकेट लिएका थिए । दिल्लीको यो जितपछि प्लेअफको समीकरण रोचक हुने देखिएको छ । अहिलेसम्म रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा पुगिसकेको छ भने लखनउ र मुम्बई प्लेअफको दौडबाट बाहिर रहेका छन् । अन्य तिन स्थानको लागि सात टिमको प्रतिष्पर्धा रहेको छ । यो जितपछि दिल्लीको १३ खेलमा १२ अंक भएको छ र हाल सातौं स्थानमा रहेको छ । दिल्लीले अब अन्तिम खेल आगामी आइतबार कोलकोतासँग खेल्ने छ । त्यस्तै राजस्थानको भने १२ खेलमा १२ अंक रहेको छ र हाल छैटौं स्थानमा छ । राजस्थानले अब आफ्ना बाँकी दुई खेल आगामी मंगलबार लखनउसँग र आगामी आइतबार मुम्बईसँग खेल्ने छ ।