काठमाडौं । जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम् ले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गर्दै प्रहरी कर्मचारीहरूलाई आशीर्वचन प्रदान गर्नुभएको छ ।
प्रधान कार्यालयमा उहाँलाई प्रहरी महानिरीक्षक दान बहादुर कार्की सहित प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए । भ्रमणका क्रममा जगद्गुरू शंकराचार्यले परिसरमा ‘कल्पवृक्ष’ रोपण समेत गर्नुभयो ।
अवलोकनपछि आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीको शब्द रचनामा तयार गरिएको भगवान शिवप्रति समर्पित भजन “शिव शम्भू” को विमोचन जगद्गुरू शंकराचार्यबाट गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जगद्गुरू शंकराचार्यले “सत्य, सेवा, सुरक्षण” को मूल मन्त्र आत्मसात् गर्दै नागरिक सुरक्षामा खटिएको नेपाल प्रहरीको प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा पनि नागरिकको जीउधनको सुरक्षामा नेपाल प्रहरीले अझ सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले जगद्गुरू शंकराचार्यको उपस्थितिले सम्पूर्ण प्रहरी परिवारलाई आत्मिक शान्ति, दिव्य प्रेरणा र आध्यात्मिक ऊर्जा प्रदान गरेको बताउनुभयो । उहाँले प्राप्त आशीर्वचनले प्रहरी कर्मचारीहरूको सेवाभाव, आत्मबल र मनोबलमा नयाँ ऊर्जा थपिएको उल्लेख गर्नुभयो ।

उहाँले आध्यात्मिक चिन्तनले पेशागत दबाबबीच धैर्य, संयम, सकारात्मकता र नैतिक शक्तिको विकास गर्न सहयोग पुग्ने धारणा राख्दै नेपाल प्रहरी सदैव सत्य, न्याय, अनुशासन र धर्मको मार्गमा अडिग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विश्व अधिकारी ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी, वरिष्ठ प्रहरी अधिकृत, प्रहरी जवान तथा देशभरका विभिन्न प्रहरी कार्यालयका प्रतिनिधिहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।

