काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदैछ ।
हरेक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले आज बजेट ल्याउन लागेको हो।
यसका लागि संघीय संसदका दुवै सदनको संयुक्त बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । सोही बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट सार्वजनिक गर्ने कार्यसूची संघीय संसद सचिवालयले सार्बजनिक गरको छ ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले पहिलो पटक बजेट ल्याउन लागेको हो ।
आगामी आवको बजेट ल्याउन लागेको सरकारले निर्वाचनको समयमा ल्याएको वाचापत्र, सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका १०० बुँदे कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई आधार बनाएर बजेट निर्माण भइरहेको बताइएको छ ।

नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ ।

यसपटकको बजेटलाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १८ खर्ब ९० अर्ब बराबरको बजेट सिलिङ तय गरेको थियो । सरोकारवाला निकायको सुझावलाई बजेटमा यथेष्ट स्थान दिइएको बताइएको छ ।

गत बर्ष अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएका थिए । अर्थमन्त्री पौडेलले चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६० दशमलव १ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड २० दशमल ८ प्रतिश र वित्तीय व्यवस्थापन तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात १९. १ प्रतिशतको बजेट सार्वजनिक गरेका थिए ।