काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हाँसिल गर्न सबै तहका सरकार निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्र्रपति पौडेलले गणतन्त्र दिवसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राखी दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल गर्दै सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माण गर्न आ-आफ्नो क्षेत्रबाट योगदान पुऱ्याउनका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सम्वद्ध सबैमा आह्वान समेत गरेका छन् ।
उनले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएक आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका श्रद्धेय नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय एवम् राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गरेका छन् ।
उनले भनेका छन्- ‘नेपाली जनताको लामो संघर्ष र बलिदानको प्रतिफल स्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट वि.सं. २०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौं ।’
राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको उल्लेख गरेका छन् । उनले यस ऐतिहासिक दिवसले सबै नेपालीहरूबीच आपसी विश्वास सहकार्य र राष्ट्रिय एकताको भावना अझ सुदृढ हुँदै जाओस् भन्ने कामना समेत गरेका छन् ।
