काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री बालेन साहले संसद्मा नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
संविधानविद् आचार्य सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त असामान्य, संवेदनशील र राष्ट्रिय हित विपरीत रहेको बताएका हुन । उनले नेपाल भारत सीमा विवाद जस्तो गम्भीर विषयमा सरकार प्रमुखबाट आएको यस्तो धारणा विगतमा कुनै पनि प्रधानमन्त्रीले सांसदभित्र वा बाहिर सार्वजनिक रूपमा व्यक्त गरेको रेकर्ड नभएको समेत उल्लेख गरेका छन् ।
आचार्यले भनेका छन्, ‘नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर छ । आज सम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद् र संसद् बाहिर दिएको रेकर्ड छैन ।’
उनले प्रधानमन्त्रीको भनाइले नेपालले लामो समयदेखि उठाउँदै आएको सीमा विवादको विषयलाई कमजोर बनाउन सक्ने आशङ्का व्यक्त गरेका छन् ।
उनले दुई देश बिचको सीमा विवादमा तेस्रो पक्षको उपस्थितिको कुरा उठाइनु झन् चिन्ताजनक रहेको बताए । आचार्यले यस्तो अभिव्यक्तिले भारतद्वारा अतिक्रमित नेपाली भूमिको विषयलाई अप्रत्यक्ष रूपमा वैधता दिन सक्ने जोखिम भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘सीमा मिच्ने काम दुई देशबिच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाइले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहँदैन वा सक्दैन भन्ने कुरा दर्साउँछ ।’

आचार्यले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको विषयमा सरकार स्पष्ट, दृढ र जिम्मेवार हुनुपर्ने धारणा राख्दै अहिले सम्पूर्ण देश र नागरिकहरू थप सचेत हुनुपर्ने समय आएको बताएका छन् ।
