काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले प्रधानमन्त्री बालेन शाहले आज संसदको रोस्ट्रमबाट दिएको एक अभिव्यक्तिले नेपालीहरूको आत्मसम्मानमा चोट पुगेको उल्लेख गरेको छ।
तरूण दलका अध्यक्ष मनिष कोइरालाले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीले दिएको अपरिपक्क र अवाञ्छित अभिव्यक्तिले नेपालीको आत्मसम्मानमा चोट पुगेको उल्लेख गरेका हुन्। सांसदहरूसँग प्रश्नोउत्तरका क्रममा आज प्रधानमन्त्री शाहले नेपालले भारतको जग्गा मिचेको बताएका थिए।
’यो विषय कुटनीतिक रूपमा टेलब टक… तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्छ होला। मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ। भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’, प्रधानमन्त्री शाहले भनेका थिए, ’यो कुरा अस्ति भर्खर थाहा भयो। हामीले मिचेका छौँ। उहाँहरूले मिच्नुभएको छ, बसेर साथीका रुपमा समाधान गर्ने सोच राखेका छौँ।’

