लट्री टिकट बाटै हरेक दिन १, २ जनालाई लखपति बनाउँने अर्थमन्त्री डा. वाग्लेको आश्वासन
कर्पोरट खबर
8:26 pm, आइतबार, जेठ १७, २०८३
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हरेक भ्याट बिललाई लट्री टिकट बनाएर दैनिक १–२ जना नेपालीलाई लखपति बनाउने योजना घोषणा गरेका छन्।
- यस योजनाले भ्याट बिल लिने संस्कृति प्रोत्साहन गर्दै कर छली नियन्त्रण र राजस्व सङ्कलनमा सुधार ल्याउने विश्वास लिइएको छ।
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब ‘लट्री टिकट’बाट दैनिक १, २ जना नेपालीलाई लखपति बनाउने आश्वासन बाँडेका छन् ।
आगामी आवको बजेटपछि अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आश्वासन दिए । उनले मूल्य अभिवृद्धिकरको बिललाई नै लट्री टिकट बनाउन लागिएको बताए । “अब हरेक भ्याट बिल अटोमेटिक लट्री टिकट बन्दैछ, लट्री टिकटबाट हरेक दिन १, २ जनालाई लखपति बनाउँछौँ ।”
यो योजनामा विदेशबाट विप्रेषण पठाउने नेपालीलाई सहभागी गराइने उनको भनाइ छ । यसले मूल्य अभिवृद्धिकरको बीलबिजक लिने संस्कृतिलाई प्रोत्साहन गर्नुका साथै कर छली नियन्त्रण र राजस्व सङ्कलनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको उनले बताए ।
उनले राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नका लागि उपभोगमा आधारित कर प्रणालीलाई प्राथमिकता दिइएको बताए । मध्यम वर्गलाई अत्यधिक करको भार नथोपरिएको स्पष्ट पार्दै अर्थमन्त्री वाग्लेले १० लाखसम्मको वार्षिक आम्दानीमा एक प्रतिशत कर लाग्ने व्यवस्था गरिएको उल्लेख गरे ।