काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय पूर्वाधार निर्माणका लागि बिजुलीको महसुलमा शुल्क लगाएको बताएका छन् ।
आगामी आवको बजेटपछि अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताए ।
उनले विद्युतीय पूर्वाधार निर्माणका लागि मात्रै आगामी आर्थिक वर्षका लागि ८५ अर्ब ५४ करोड बराबरको बजेट विनियोजन गरेको भन्दै लगानीको स्रोत जुटाउनका लागि ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्नेलाई ५ प्रतिशत बराबरको कर प्रस्ताव गरिएको बताए ।
यस्तै, निजी विद्यालयमा अध्ययन गर्ने र निजी अस्पतालमा उपचार गर्नेका हकमा उठाउन लागिएको समता कोष सार्वजनिक पूर्वाधार विकास र दुर्गम क्षेत्रका विद्यार्थीको पोषणका लागि खर्च गरिने उनको भनाइ थियो ।

नियमित दायित्वका लागि नै ठूलो स्रोत विनियोजन गर्नुपर्ने बाध्यता रहेको बताए । निर्माणका क्रममा रहेका पूर्वाधार सम्पन्न गर्न बजेटले जोड दिएको जानकारी दिँदै अर्थमन्त्री डा वाग्लेले आगामी आवमा १२ वटा प्रसारण लाइन र हुलाकी राजमार्ग पूरा हुने विश्वास व्यक्त गरे । बजेटमार्फत एआई तथा विद्युतीय पूर्वाधार निर्माणका लागि विशेष प्रबन्ध गरिएको र यो परियोजना रणनीतिक महत्वको रहेको अर्थमन्त्रीको भनाइ छ ।
