काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज संघीय संसद्मा नेपालको सीमा सम्बन्धमा दिएको अभिव्यक्ति विरुद्ध १० विद्यार्थी संगठनले विरोध जनाएका छन् ।
आज शाहले संसद्मा नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए । त्यस लगत्तै संयुक्त वक्तव्य जारी गर्दै विद्यार्थी संगठनहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई आपत्तिजनक, गैरजिम्मेवार, आत्मसमर्पणवादी तथा राष्ट्रहित विपरीत भएको भन्दै भर्त्सना गरेका छन् ।
लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी रहेको भन्दै प्रधानमन्त्रीबाट राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा भौगोलिक अखण्डतालाई कमजोर बनाउने खालको अभिव्यक्ति आएको भन्दै आपत्ति जनाए ।
उनीहरूले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिन, नेपाली जनतासमक्ष सार्वजनिक रूपमा माफी माग्न तथा धारणा सच्याउन आग्रह गरेका छन् ।

