काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलहरूको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले देशभरका डिलर नेटवर्कबाट उत्कृष्ट बिक्री तथा सेवा दक्षता भएका प्रतिभाहरूको छनोट गर्दै ‘रिजनल सेल्स एण्ड सर्भिस स्किल कन्टेस्ट २०८२/८३’ सफलतापूर्वक सम्पन्न गरेको छ।
यामाहा ट्रेनिङ एकेडेमीको आयोजनामा सम्पन्न प्रतियोगिताको उद्देश्य अग्रपंक्तिमा कार्यरत जनशक्तिको सीप अभिवृद्धि, उत्कृष्टताको सम्मान तथा भविष्यका लागि अझ सक्षम बिक्री तथा सेवा टोली तयार गर्नु रहेको कम्पनीले जनाएको छ।
बिक्रीतर्फको क्षेत्रीय प्रतिस्पर्धा काठमाडौं, इटहरी, बर्दिबास, भरतपुर र नेपालगञ्जमा आयोजना गरिएको थियो भने सेवातर्फको प्रतियोगिता काठमाडौं, बुटवल, बर्दिबास, इटहरी र नेपालगञ्जमा सम्पन्न भएको थियो। सहभागीहरूको मूल्याङ्कन उत्पादनसम्बन्धी ज्ञान, प्रतिस्पर्धी विश्लेषण, अटोमोबाइलसम्बन्धी आधारभूत जानकारी तथा व्यावहारिक बिक्री र सेवा सीपका आधारमा गरिएको थियो।
सेल्स स्किल प्रतियोगितामा बी एण्ड बी अटो ट्रेडर्स प्रालि, विराटचोकका चूडामणि आचार्य प्रथम, भिएडब्लु इन्टरप्राइजेज प्रालि, पोखराका समुन्द्र पंगेनी प्रथम उपविजेता तथा डी एण्ड डी अटोलिङ्क प्रालि, सीतापाइलाका अनिश महर्जन द्वितीय उपविजेता बनेका छन्।
त्यसैगरी, सर्भिस स्किल प्रतियोगितामा मोटो क्राफ्ट, गोंगबुका प्रवीण सान्डा प्रथम, ऋषिक अटोमोबाइल्स, कुमारीपाटीका निरोज श्रेष्ठ प्रथम उपविजेता तथा क्रेशभ कमर्सियल, दमकका दिपन सरकार द्वितीय उपविजेता घोषित भएका छन्। उत्कृष्ट प्रदर्शन गर्दै उनीहरूले राष्ट्रियस्तरको प्रतिस्पर्धामा स्थान सुरक्षित गरेका हुन्।

प्रतियोगिताका सबै विजेताहरूले भैरहवास्थित परासीमा रहेको यामाहा फ्याक्ट्री भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन्। साथै, सर्भिस स्किलतर्फका उत्कृष्ट प्रतिस्पर्धीहरूले विश्वस्तरीय स्किल प्रतियोगितामा सहभागिता जनाउने अवसर समेत पाउनेछन्।

पाँचवटै क्षेत्रबाट बिक्री तथा सेवातर्फका उत्कृष्ट तीन–तीन जना गरी कुल ३० जना फाइनलिस्ट राष्ट्रिय स्किल कन्टेस्टका लागि छनोट भएका छन्। कम्पनीका अनुसार यो उपलब्धि व्यक्तिगत उत्कृष्टतासँगै सम्बन्धित डिलरशिपहरूको निरन्तर सिकाइ र व्यावसायिक विकासप्रतिको प्रतिबद्धताको प्रतिफल पनि हो।

यस वर्ष एमएडब्लू राइड्स र यामाहा ट्रेनिङ एकेडेमीले बिक्री तथा सेवा दुवै विधालाई एउटै राष्ट्रिय मञ्चमा समेट्ने एकीकृत अवधारणा अघि सारेका छन्। राष्ट्रिय स्किल कन्टेस्ट २०८२/८३ आगामी जेठ १६ गते काठमाडौंको त्रिपुरेश्वरस्थित यामाहा ट्रेनिङ एकेडेमीमा बिहान ९ बजेदेखि आयोजना हुने तय गरिएको छ।
सेल्सतर्फका प्रतिस्पर्धीहरूले लिखित परीक्षा, प्रडक्ट डेमो तथा भाइभामा सहभागिता जनाएका थिए भने सर्भिसतर्फ बिगिनर्स, ब्रोन्ज, इन्जिन, इलेक्ट्रिकल तथा एफआई सिस्टम विधामा मूल्याङ्कन गरिएको थियो।
एमएडब्लू राइड्सका अनुसार यो कार्यक्रम केवल प्रतिस्पर्धा मात्र नभई दक्ष जनशक्ति निर्माणमा गरिएको दीर्घकालीन लगानी हो। कम्पनीले आधारभूत तहदेखि नै दक्ष जनशक्ति विकास गर्दै यामाहाको डिलर नेटवर्कलाई अझ सुदृढ बनाउने र ग्राहकलाई गुणस्तरीय सेवा अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।