काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आज भएको एसीसी महिला प्रिमियर कप अन्तर्गत नेपाल र भुटानबीचको खेलमा भुटानी ब्याटरलाई टाइम आउट दिएको विषयप्रति दुख व्यक्त गर्दै भुटान क्रिकेटसँग माफी मागेको छ ।
क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै टाइम आउटको घटना क्रिकेटको मूल भावना र मूल्यसँग मेल नखाने भन्दै भुटान क्रिकेट संघ, सम्बन्धित खेलाडी तथा सबै सरोकारवालाप्रति पनि संघले क्षमायाचना गरेका हुन् ।
आज भएको खेलमा ढिलो गरि मैदानमा आएकी भुटानी ब्याटर रित्शी छोडेनविरुद्ध नेपालको अपिलपछि आउट दिइएको थियो ।
महिला राष्ट्रिय टोलीको उक्त व्यवहारप्रति गहिरो खेद व्यक्त गर्दै सचिव खड्काले नियमअनुसार आउट दिइए पनि खेलको भावना केवल नियममा मात्र सीमित नहुने र स्पोट्र्सम्यानसिप सधैं केन्द्रमा रहनुपर्ने उल्लेख गरेका छन् ।
विकासोन्मुख क्रिकेट राष्ट्रका रूपमा नेपालले खेल भावना, आपसी सम्मान र निष्पक्ष खेललाई उच्च प्राथमिकतामा राख्ने जनाउदै खड्काले यो घटनाले ती मूल्यहरू पूरा गर्न नसकेको स्वीकार गर्दै यसले पारेको असन्तुष्टिप्रति पनि दु:ख व्यक्त गरेका छन् ।

साथै उनले भविष्यमा खेलको मैदानभित्र र बाहिर दुवै ठाउँमा उच्च इमानदारी र क्रिकेटको भावना कायम राख्ने प्रतिबद्धता दोहोर्याएका छन् ।

