काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव डा. कृष्णहरि पुष्करलाई प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ लाई व्यक्तिगत स्वार्थसँग जोडिएका म्यासेज पठाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको घटना सार्वजनिक भएको छ ।
बिहीबार अपराह्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कपनस्थित निवासबाट नियन्त्रणमा लिएको थियो । करिब सात घण्टाको सोधपुछ पछि राति नै उनलाई रिहा गरिएको छ ।
सोधपुछका क्रममा उनले प्रधानमन्त्रीलाई सन्देश पठाएको स्वीकार गरे पनि त्यसमा कुनै आपत्तिजनक आशय नभएको जिकिर गरेका थिए । यद्यपि, प्रहरीले भने पुष्करले कर्मचारीको पदीय मर्यादा र प्रशासनिक चेन अफ कमान्डविपरीत प्रधानमन्त्रीलाई सिधै मोबाइलमा म्यासेज पठाएको बताएको छ ।
म्यासेजमा प्रयोग गरिएको भाषा र आशयमाथि प्रश्न उठेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा उनलाई सोधपुछका लागि टेकुस्थित अपराध अनुसन्धान कार्यालय (सीआईबी) लगिएको थियो ।
सचिव पुष्करले प्रधानमन्त्रीसँग भेटका लागि पटक–पटक समय मागेका थिए । तर, प्रधानमन्त्रीले भेटको समय नदिएपछि, उनले बालेन साहको निजी फोन नम्बरमा सिधै म्यासेज पठाएका थिए । हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत पुष्कर आगामी असार २४ गते सचिव पदको पाँच वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा जाँदै छन् । उनको अवकाश भएको केही दिनपछि वर्तमान मुख्यसचिव सुमनराज अर्याल पनि सेवाबाट बाहिरिने छन् ।

सचिव पुष्करले मुख्यसचिव बन्ने आकाङ्क्ष राखेको चर्चा सरकारी वृत्तमा छ । यदि अहिले नै मुख्यसचिव पदमा बढुवा हुन पाए, उमेर हदका कारण उनले केही समय उक्त पद सम्हाल्न पाउने छन् । तर, आगामी असार २६ गतेसम्म अहिलेका मुख्यसचिव सुमनराज अर्यालको कार्यकाल भएका कारण उनी मुख्य सचिव हुने सम्भावना छैन ।

यसअघि २०८२ साल मङ्सिर ९ गते तत्कालीन मुख्यसचिव एकनारायण अर्याल अवकाशमा गएपछि पनि पुष्करले मुख्यसचिवको दाबी गरेका थिए । तर, त्यस बेला सुशीला कार्की नेतृत्वको सरकारले सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसयता उनी विभिन्न संवैधानिक निकाय, राजदूत वा अन्य लाभको पदमा नियुक्ति पाउने सम्भावनामा शक्ति केन्द्रसँग नजिकिने गरेका छन् ।

प्रधानमन्त्रीलाई पठाइएको सन्देशमा उनले आफ्नो सेवापछि कुनै संवैधानिक निकाय वा राजनीतिक नियुक्ति प्राप्त गर्न सकिने अपेक्षा व्यक्त गरेका थिए । सन्देशमा उनले आफ्नो गृह जिल्ला महोत्तरीको सन्दर्भ समेत उल्लेख गर्दै प्रधानमन्त्रीसँग निकटता बढाउने र राजदूत लगायतका पदमा अवसर पाउने चाहना व्यक्त गरेको बताइएको छ ।
यो घटनाले निजामती प्रशासनभित्र रहेको प्रवृत्तिलाई उजागर गरेको छ । विगतदेखि नै अवकाश नजिक पुगेका उच्चपदस्थ कर्मचारीहरूले प्रभावशाली राजनीतिक नेतृत्वसँग सम्बन्ध विस्तार गरी राजदूत, आयोग, बोर्ड, परिषद् तथा संवैधानिक निकायहरूमा नियुक्ति खोज्ने प्रवृत्ति थियो ।
विभिन्न सरकारहरूले पनि यस्ता नियुक्ति गर्दै आएका थिए । तर वर्तमान सरकारले विगतका धेरै राजनीतिक नियुक्तिहरू खारेज गर्दै नयाँ प्रक्रिया अघि बढाएको । यद्यपि, यो घटनाले भने देशमा सरकार परिवर्तन भए पनि, कर्मचारी वृत्तमा भने पुरानै प्रवृत्ति यथावत रहेको देखाएको छ ।
अनुसन्धानमा संलग्न प्रहरीले पुष्करलाई कुनै मुद्दा चलाउने पर्याप्त कानुनी आधार नदेखिएपछि पत्नी आभा श्रेष्ठको जमानीमा छाडिएको बताएका हुन् । आभा नेपाल सरकारकी सह–सचिव हुन् । प्रधानमन्त्रीको सचिवालयले समेत भविष्यमा यस्ता गतिविधि नदोहोर्याउने भन्ने प्रतिबद्धतापछि उनलाई बिहीबार राती नै रिहा गरिएको बताइएको छ ।