काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षको भूमिका केवल सरकारको विरोधमा सीमित हुन नहुने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले सरकारले गरेका जनहितकारी र सकारात्मक कामको खुलेर समर्थन गर्नुपर्ने उल्लेख गरेका छन् । उनका अनुसार राम्रो कामको प्रशंसा गर्नु लोकतन्त्रको स्वस्थ अभ्यास र राजनीतिक परिपक्वताको परिचायक हो ।
‘प्रतिपक्षको भूमिका भनेको सधैँ सरकारको विरोध गर्नु मात्र होइन । सरकारले गरेका राम्रा र जनहितका कामलाई खुलेर समर्थन गर्नुपर्छ, किनकि सकारात्मक कामको प्रशंसा प्रजातन्त्रको स्वस्थ अभ्यास हो,’ उनले भनेका छन् । शाहीले देशभन्दा माथि कुनै राजनीतिक दल नहुने र राष्ट्रहितभन्दा ठूलो कुनै स्वार्थ नहुने उल्लेख गर्दै राष्ट्रिय मुद्दामा सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
उनले सुशासन, राष्ट्रियता र जनहितका विषयमा सरकार कमजोर देखिएको वा चुकेको अवस्थामा प्रतिपक्षले प्रभावकारी खबरदारी गर्नुपर्ने पनि बताएका छन् । प्रतिपक्षको जिम्मेवारी केवल आलोचना गर्ने नभई सरकारलाई सही मार्गमा डोहोर्याउने र जनताको पक्षमा आवाज उठाउने रहेको उनको भनाइ छ ।
नेपालको समृद्धि कुनै एक दल, सरकार वा व्यक्तिको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै शाहीले सरकार, प्रतिपक्ष, नागरिक समाज तथा आम नागरिकबीचको सहकार्य र साझा जिम्मेवारीबाट मात्रै राष्ट्र निर्माणको लक्ष्य हासिल गर्न सकिने बताएका छन् । ‘आलोचना पनि गरौँ, तर देश बनाउने उद्देश्यसहित; समर्थन पनि गरौँ, तर विवेकका साथ,’ भन्दै उनले राष्ट्रिय हितका विषयमा दलगत स्वार्थभन्दा माथि उठ्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

शाहीको यो अभिव्यक्ति पछिल्लो समय सरकार र प्रतिपक्षबीच बढ्दो राजनीतिक ध्रुवीकरणका बीच सहकार्य, उत्तरदायित्व र रचनात्मक राजनीतिक संस्कृतिको आवश्यकता औँल्याउने सन्देशका रूपमा हेरिएको छ ।
