काठमाडौँ । वरिष्ठ अभिनेता राजेश हमालले नेपालको सीमासम्बन्धी बहसमा सुनिने ‘सीमा पार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ एउटै अर्थमा बुझिने गरिए पनि यी दुई पूर्ण रूपमा फरक विषय भएको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै हमालले सीमा अतिक्रमणका दुई फरक पाटा र देशलाई आवश्यक पर्ने नेतृत्वको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनको भनाइअनुसार सीमा पार अतिक्रमण सरकारभन्दा पनि स्थानीय नागरिकसँग जोडिएको हुन्छ। नेपाल र भारतबिचको खुला सीमाका कारण शताब्दीयौंदेखि दुवै देशका नागरिक व्यापार, खेतीपाती र सामाजिक सम्बन्धमा जोडिएकाले यस्ता समस्या आउने हमालले उल्लेख गरेका छन्।
नदीले धार परिवर्तन गर्दा, सीमा स्तम्भ हराउँदा वा क्षतिग्रस्त हुँदा र बस्ती विस्तार हुँदा यस्तो अतिक्रमण हुने उनको बुझाइ छ। यस्ता घटना नीतिगत नभई भौगोलिक निकटता र ऐतिहासिक परिस्थितिको परिणाम भएको हमालले बताएका छन्।
उनले यसलाई रणनीतिक विस्तार नभई प्रशासनिक र स्थानीय समस्याको रूपमा अर्थ्याएका छन्, जसलाई संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट समाधान गर्न सकिन्छ।

