काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणबाट स्वदेश फर्किएका छन् । काठमाडौँ फर्किएपछि विमानस्थलमा पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले भारत भ्रमणमा पारदर्शी किसिमले भेटघाट गरेको बताउदै सबै भेटमा दुताबासका प्रतिनिधि रहेको बताए । उनले भाजपा विश्वकै धेरै सदस्य भएको दल भएकाले रास्वपा र भाजपाको सम्बन्ध विस्तारको भ्रमणको रुपमा सफल भ्रमण भएको बताए ।
उनले भारतसँगको सीमा विवाद कुटनीतिक तहबाटै समाधान हुने बताउँदै आफुहरुले उठाउदै विकास कुटनीतिकको विषय आफुले भारतीय नेतृत्वसँग कुरा गरेको बताए । उनले नेपालले भारतसँग कस्तो सम्बन्ध राख्न चाहन्छ भन्ने विषयको खाका भारतीय नेताहरुसँग राखेको बताउदै नेपाल र भारतवीच कैयौं विषय सहकार्य गरेर जानुपर्ने विषयका बारेमा छलफल भएको बताए । लामिछानेले अब भारतसँग पारदर्शी सम्बन्ध राख्न पहिलो चरणको छलफल भएको बताउदै यस भ्रमणले सकारात्मक प्रभाव पार्ने उनले स्पष्ट गरे ।
लामिछानेले भारतमा आफुलाई गरिएको स्वागत सम्पूर्ण नेपालीको सम्मान भएको महसुस गरेको प्रतिक्रिया दिए । उनले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा बारे दिएको अभिव्यक्ति परराष्ट्र मन्त्रालयले स्पष्ट गरेकोले यस बारेमा पार्टीको अलग्गै धारणा नहुने बताए । साथै सरकार परिवर्तन हुने हल्ला चलाइएको बारे जवाफ दिदै लामिछानेले चुनावअघि गरेको सहमतिप्रति आफु प्रतिबद्ध रहेको र अस्थिरता नचाहेको धारणा राखेका छन् ।
२- सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको सञ्चालक समितिका पदाधिकारी छनोट विवादमा अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको हो । सरकारले आवेदन माग गरी प्रतिस्पर्धाबाट वायु सेवा निगमका सदस्यहरू र अध्यक्ष चयन गर्ने तयारी गरिरहेको समयमा निगमको सञ्चालक समितिमा प्रतिस्पर्धामार्फत छनोट गरिँदै गर्दा आफूलाई अन्यायपूर्वक बाहिर पारिएको दाबीसहित उपेन्द्रबहादुर कार्कीले सर्वोच्चमा दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ ।

३- गुल्मीमा सांसद सागर ढकाल गाडी दुर्घटनामा परेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका-४ अर्खलेमा गुल्मी-१ बाट निर्वाचित सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको हो । प्रहरीले दुर्घटनामा कुनै मानवीय क्षति नभएको र गाडीमा सवार सबै जना सुरक्षित रहेको बताएको छ ।

४- गृह मन्त्रालयले सहसचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको गृहमन्त्रालयले उनीहरूको सरुवा गरेको हो । सरुवासँगै १५ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेरसमेत गरिएको छ । सूचीअनुसार निराजन घिमिरेलाई स्याङ्जा, कुलमान सिंह गुरुङलाई कास्की र लक्ष्मी पाण्डे गौतमलाई धादिङको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ । त्यस्तै बलराम निरौलालाई अध्यागमन कार्यालय भैरहवामा पठाइएको छ ।

त्यस्तै ईश्वरी प्रसाद अर्याललाई संखुवासभा, भविश्वर पाण्डेलाई पाल्पा, जगदिश्वर उपाध्यायलाई नवलपसारी पूर्व, श्यामकृष्ण थापालाई सप्तरी, रुद्रादेवी शर्मालाई धनकुटा, मेखबहादुर मंग्रातीलाई उदयपुर, टुवाराज पोखरेललाई ओखलढुंगा, विजयराज सुवेदीलाई सर्लाही, विनु बज्राचार्य कुँवरलाई रामेछाप, धर्मराज जोशीलाई सुर्खेत सरुवा गरिएको छ । त्यस्तै सिर्जना थपलियालाई त्रिअबि अध्यागमनमा सरुवा गरिएको छ भने रामुराज कडरियालाई गृह मन्त्रालयमा तानिएको छ । त्यस्तै प्रदीपकुमार कोइरालालाई विपद् व्यवस्थापन र कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पन्जीकारण विभागमा पठाइएको छ ।
५- दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान र राप्रपा छोडेका धवलशमशेर राणा समुहबीच नयाँ राष्ट्रवादी राजनीतिक दल बनाउने सहमति भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर प्रसाई र राणाले नयाँ दल बनाउने सहमति गरेका हुन् । उनीहरुले राष्ट्रवादी, राजावादी, देशभक्तलाई एक गर्ने गरि नयाँ राजनीतिक दल बनाएर अगाडी बढ्ने घोषणा गरेका छन् ।
उनीहरुले सनातन हिन्दु अधिराज्य पुनर्स्थापना, पृथ्वीनारायण शाहको दिव्योपदेशमा आधारित दर्शन र दोहोरो नागरिकता पाउनेगरी एकपटकको नेपाली सधैँको हुनेगरी नयाँ पार्टी बनाउने बताएका छन् । राणाले पार्टीको नाम भने दुवै पक्षलाई समेटेर बनाइने समितिको सुझाव अनुसार राखिने बताएका छन् । त्यस्तै प्रसाईले राप्रपासहित सबै दलका राष्ट्रवादी नेता कार्यकर्तालाई आफुहरुको दलमा आउन आग्रह गरेका छन् ।
६- सिंगापुरमा जारी एशियन गेम्सका क्रिकेटतर्फको छनौट प्रतियोगिताको सेमिफाइनलको समीकरण पुरा भएको छ । सेमिफाइनलमा पुगेका नेपाल र ओमान पहिलो सेमिफाइनलमा खेल्ने भएका छन् भने हङकङ र मलेसिया दोस्रो सेमिफाइनलमा खेल्ने भएका हुन् । नेपाल र मलेसिया समुह ए बाट र हङकङ र ओमान समुह बी बाट समुह विजेता र उपविजेता हुदै सेमिफाइनलमा पुगेका हुन् । सेमिफाइनल खेल आइतबार हुने छ । यी चारै देश जापानमा हुने एशियन गेम्समा छनौट भएका छन् । एशियन गेम्समा पुरुष क्रिकेटतर्फ कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।
७- महानायक राजेश हमालले सीमा बारे चलिरहेको बहस बारे टिप्पणी गर्दै देशको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता र दूरदृष्टि हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै महानायक हमालले राजनीतिक अस्थिरता र अनिश्चितताको अहिलेको विश्व परिवेशमा नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन् । उनले नेपालका सीमा सम्बन्धी बहसलाई लिएर दुई फरक प्रकारका अवधारणा रहेको बताउदै सीमा पार हुने अतिक्रमण र राज्य आफैँले गर्ने भूभाग विस्तारका प्रयासलाई एउटै अर्थमा बुझ्ने गरिएको भए पनि ती पूर्ण रूपमा फरक प्रकृतिका विषय भएको बताएका छन् ।
उनले सीमा पार अतिक्रमण धेरैजसो सरकारभन्दा पनि स्थानीय समुदाय र नागरिकसँग जोडिएको हुने बताएका छन् । नेपाल–भारतबीचको खुला सीमाका कारण दुवै देशका नागरिकबीच शताब्दीयौँदेखि व्यापार, खेतीपाती र सामाजिक सम्बन्ध कायम रहँदै आएको उल्लेख गर्दै उनले नदीले धार परिवर्तन गर्नु, सीमा स्तम्भ हराउनु वा बिग्रनु, बस्ती विस्तार हुनु जस्ता घटनाहरू सामान्य रूपमा देखिने बताए । उनले यस्ता घटनाहरू नीतिगत विस्तारका योजना नभई भौगोलिक अवस्था र ऐतिहासिक परिस्थितिको परिणाम भएको बताउँदै यिनलाई प्रशासनिक समन्वय, संयुक्त अध्ययन र आपसी संवादमार्फत समाधान गर्न सकिने बताएका छन् ।
हमालले राज्य आफैँ संलग्न भएर कुनै विवादित भूभागमा नियन्त्रण विस्तार वा कायम राख्ने प्रयास भने पूर्ण रूपमा फरक विषय भएकोबताउदै यस्तो अवस्थामा व्यक्तिभन्दा पनि राज्यका निकायहरू सक्रिय रहने, सडक निर्माण, प्रशासनिक संरचना स्थापना, सुरक्षा निकायको उपस्थिति र सरकारी नक्सामा परिवर्तन जस्ता कदममार्फत अधिकार स्थापित गर्नुपर्ने बताएका छन् । यस सन्दर्भमा उनले कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रलाई प्रमुख उदाहरणका रूपमा उल्लेख गरेका छन् ।
८- परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् । नयाँ दिल्लीमा मन्त्री खनाललाई भारतका अतिरिक्त सचिव (नर्थ)मनु महावरले स्वागत गरेका छन् । दिल्लीमा मन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भेटमा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ । दुवै पक्षले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गर्ने परराष्ट्र मन्त्रलयले बताएको छ । मन्त्री खनाल २४ गते स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
९- नेप्से आज पनि दोहोरो अंकले घटेको छ । आज शुक्रबार नेप्से ११.३७ अंकले घटेर २७५५.४१ विन्दुमा पुगेर रोकिएको छ । आज ३५१ कम्पनिका एक करोड २७ लाख ३२ हजार ८६८ कित्ता शेयर ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार ८२३ मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, म्युचुअल फण्ड र निर्जीव फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने उपकार लघुवित्तको शेयर ९.७१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सिद्धार्थ बैंकको डिभेन्चरको शेयर ४.९२ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ५५ करोड ६९ लाख बराबर कारोबार भएको छ भने सिटी होटल्सको १९ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।
१०- सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकार सुशासन र राजस्व रक्षाका मामिलामा सचेत रहेकाले तत्कालै समिति गठन गरी कानुनी प्रक्रिया अघि बढाइएको हो । समितिले सवारीसाधन नियन्त्रणमा लिइएकै स्थलगत रूपमै पुगेर द्रुत गतिमा छानबिन सुरु गरिसकेको उहनले जानकारी दिएकी छन् । सवारीसाधनको संख्या ठूलो भएकाले राजस्व र भन्सार सम्बद्ध सबै कानुनी कागजातहरूको सुक्ष्म अध्ययन र प्रमाणीकरण गर्न केही समय लाग्न सक्ने र छानबिन नसकिँदासम्म धैर्य गर्न र आश्वस्त रहन उनले आग्रह गरेकी छन् ।
११- विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि १० जना तथा सदस्य पदका लागि २२ जनाले आवेदन दिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेका थिए । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन गरिएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य छन् ।
सिफारिस समितिले आयोगका अध्यक्षसहित चार सदस्य पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको थियो यसका लागि १५ दिनको समयसीमा राखेर सार्वजनिक सूचना जारी गरेको थियो । समितिले प्राप्त आवेदनमाथि अध्ययन गरी छनोट प्रक्रिया अघि बढाउनेछ । सरकारले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ बमोजिम स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन छ । यसअघि आयोगका अध्यक्षमा रामप्रसाद धितालसहित सदस्यहरूमा मधुसुधन अधिकारी, झमकप्रसाद शर्मा, गौतम डंगोल र भागिरथी भट्टराई ज्ञवाली थिए ।
अध्यक्ष पदका लागि १० जनाले दरखास्त दिएका छन् । आवेदन दिनेहरूमा ई. रुद्रप्रसाद गौतम, केशव अधिकारी, डा. रामप्रसाद धिताल, रामेश्वरप्रसाद कलवार, मधुप्रसाद भेटवाल, मोतीबहादुर कुँवर, डा. मधुसुधन अधिकारी, डा. भोलानाथ शर्मा अधिकारी, नारायणप्रसाद सापकोटा र डा. शान्तिकला सुवेदी रहेका छन् । यस्तै, आयोगको सदस्य पदका लागि ११ जनाले आवेदन दिएका छन् । सदस्य पदका आकांक्षीहरूमा डा. शेखर अर्याल, राजिवकुमार सिंह, निरज्वल बस्नेत, रुद्रप्रसाद सिटौला, जयराज भण्डारी, ब्रजमोहन झा, सुरेशबहादुर भट्टराई, प्रकाश ज्ञवाली, लोकराज पाठक, रामप्रसाद गौतम र झमकप्रसाद शर्मा रहेका छन् । सम्बन्धित निकायले अध्यक्ष र सदस्य पदका लागि प्राप्त आवेदनमाथि आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ । अध्यक्ष पदमा १० जना र सदस्य पदमा ११ जनाको आवेदन परेको छ ।
१२- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अमेरिकाबीच जारी युद्धविराम तथा कूटनीतिक प्रयासका क्रममा इरानका सर्वोच्च नेता मोजतबा खामेनेईसँग भेट हुन सक्ने संकेत दिएका छन् । उनले सम्झौता भएमा भेटलाई सम्मानजनक रूपमा लिन आफू तयार रहने बताएका हुन् । ओभल कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, उनीसँग भेट्ने मेरो खास इच्छा छैन, तर आवश्यक परे भेट्न सक्छु । यदि इरानसँग कुनै समझदारी भयो भने यस्तो भेट सम्भव छ र त्यसमा मलाई आपत्ति हुँदैन ।
ट्रम्पले सम्भावित भेटलाई पूर्ण सम्मानका साथ आयोजना गरिने पनि बताएका छन् । उनले खामेनेईलाई केही क्षेत्रमा राम्रो प्रतिष्ठा भएका व्यक्तिका रूपमा व्याख्या गरे । तर उनले आफ्नो बारेमा पनि धेरैले गलत टिप्पणी गर्ने गरेको भन्दै त्यसलाई तुलना गरेका थिए । इरानसँगको सम्भावित सम्झौतामा मुख्य सर्त इरानले परमाणु हतियार राख्न नपाउने विषय हुने ट्रम्पले दोहोर्याए । उनले अमेरिकाले इरानको संवर्धित युरेनियम भण्डारमाथि नियन्त्रण गर्न सक्ने विकल्प रहेको पनि बताए । यद्यपि अहिले त्यसको आवश्यकता नरहेको उनको भनाइ छ । साथै, इरानले युरेनियम संवर्धन रोकिसकेको र अमेरिकी अधिकारीहरूले त्यसको निगरानी गरिरहेको दाबी उनले गरे । होर्मुज क्षेत्र छिट्टै सबैका लागि खुला हुने पनि उनले उल्लेख गरे ।
यसैबीच ट्रम्प प्रशासनले क्युबाका राष्ट्रपति मिगुएल डियाज कानेल, उनकी पत्नी र केही उच्च अधिकारीमाथि नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकाले क्युबा सरकारमाथि दबाब बढाउने उद्देश्यले यो कदम चालेको हो । क्युबाले भने यसलाई आफ्नो सार्वभौमिकतामाथिको हस्तक्षेप भन्दै कडा आपत्ति जनाएको छ । त्यस्तै, अमेरिका र भारतबीच अन्तरिम व्यापार सम्झौताबारे वार्ता जारी छ ।
अमेरिकी प्रतिनिधिमण्डल हालै भारत भ्रमणमा रहेको थियो र चार दिनसम्म चलेको छलफल सम्पन्न भएको छ । भारतको वाणिज्य मन्त्रालयले वार्ता सकारात्मक र व्यावहारिक भएको जनाएको छ । दुवै पक्षले व्यापार र आर्थिक सम्बन्ध अझ मजबुत बनाउने तथा दुवै देशलाई समान लाभ हुने समझदारीमा पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
१३- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणका लागि आवश्यक सुझाव उपलब्ध गराउन बैंकले अनुरोध गरेको हो ।
राष्ट्र बैंकले इच्छुक व्यक्ति, संस्था तथा सरोकारवालालाई आफ्ना राय तथा सुझाव २०८३ असार ५ गतेभित्र आर्थिक अनुसन्धान विभागमा पठाउन आग्रह गरेको छ । सुझाव इमेल (monetarypolicy@nrb.org.np) मार्फत पनि पठाउन सकिने जनाइएको छ । राष्ट्र बैंकका अनुसार प्राप्त सुझावहरूलाई आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माण प्रक्रियामा आवश्यकताअनुसार समेटिनेछ ।
१४- पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलसँगको भेटघाटमा उहाँले यस्तो सुझाव दिनुभएको हो । कार्यदलका संयोजक शाहसहितका सदस्यहरू सुझाव संकलनका क्रममा पूर्वप्रधानन्यायाधीश रेग्मीको बानेश्वरस्थित निवास पुगेका थिए ।
उनले भने- ‘पूर्वप्रधानन्यायाधीश रेग्मीले संविधान संशोधनको बहस गरिरहँदा संविधानको मूल संरचना (बेसिक स्ट्रक्चर) लाई कुनै पनि हालतमा खण्डित गर्न नहुनेमा जोड दिए । ‘संविधानको प्रस्तावना, विशेष गरी दोस्रो प्रस्तावनालाई उत्तिकै ध्यान दिएर यसको मूल भावनालाई यथावत् राख्नुपर्छ ।’ हाल चर्चामा रहेको धार्मिक व्यवस्थाका सम्बन्धमा उनले अहिले जे व्यवस्था छ, त्यसैलाई कायम राख्न र धार्मिक मामिलामा कतै पनि थपफेर नगर्न स्पष्ट सुझाव दिए । कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणाली कस्तो अवलम्बन गर्ने भन्ने बहस चलिरहेका बेला उनले हतारमा निर्णय नगर्न सुझाव दिए । अत्यधिक स्थायित्व खोज्ने नाममा मुलुक अर्को प्रकारको निरङ्कुशता वा सर्वसत्तावादतर्फ धकेलिन सक्ने खतराप्रति उनले सचेत गराए ।
यस्ता गम्भीर विषयमा अन्तर्राष्ट्रिय अभ्यास र उदाहरणहरूलाई समेत गहन रूपमा अध्ययन गरेर मात्र निष्कर्षमा पुग्न उनको सुझाव छ । संविधानको धारा ७६ को सरकार गठन प्रक्रिया र अविश्वासको प्रस्ताव सम्बन्धी व्यावहारिक कठिनाइहरूबारे चर्चा गर्दै उनले नयाँ सरकार गठन भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने वर्तमान व्यवस्था पूर्ण रूपमा व्यावहारिक नभएको उल्लेख गरे । यसलाई परिमार्जन गरी कम्तीमा ६ महिनाको समयसीमा तोक्नु उपयुक्त र व्यावहारिक हुने उनको धारणा थियो ।
वर्तमान निर्वाचन प्रणालीमा समानुपातिक सांसदहरूको संख्या अत्यधिक हुँदा उनीहरू प्रत्यक्ष निर्वाचित सांसदहरूभन्दा बढी हाबी हुने र संसद्मा ‘निर्णायक’ (डिसाइडेड) बन्ने विकृति देखिएको रेग्मीले औंल्याए । यसलाई नियन्त्रण गर्न समानुपातिकतर्फको कुल संख्यालाई घटाएर ६० मा झार्नुपर्ने उनले प्रस्ताव गरे । यसैगरी, राजनीतिक रूपमा एक पटक राज्यका ठूला र विशिष्ट पदहरूमा नियुक्ति पाइसकेका व्यक्तिहरूलाई पुनः समानुपातिक कोटाबाट सांसद बनाउने प्रवृत्ति रोक्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय सभाको गठन गर्दा महिला, दलित तथा पछाडि पारिएका उत्पीडित समुदायको वास्तविक प्रतिनिधित्व सुनिश्चित हुने गरी विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
नयाँ पुस्ता (जेन्जी) को माग र राजनीतिक सहभागिताको बहसलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न २५ वर्षको साटो २१ वर्षको उमेर हद कायम गर्नु उपयुक्त हुने सुझाव दिए । त्यस्तै, परिपक्वताका लागि राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्ने न्यूनतम उमेर ३० वर्ष तोकिनुपर्ने उनको मत छ । संविधानमै १० वर्षभित्र आयोगहरूको पुनरावलोकन गर्ने व्यवस्था रहेको स्मरण गराउँदै पूर्वअध्यक्ष रेग्मीले मानव अधिकार आयोगलाई मात्रै एक बलियो र स्वायत्त केन्द्रीय आयोगका रूपमा राख्नुपर्ने बताए ।
अन्य विषयगत आयोगहरूलाई भने उक्त मूल आयोगको शाखा (ब्रान्च) का रूपमा रूपान्तरण गर्दा प्रशासनिक भार कम हुने र प्रभावकारिता बढ्ने उनको तर्क छ । संघीयताको सिको गर्दै प्रदेश तहमा पनि अनेकौँ अनावश्यक आयोगहरू गठन गर्न आवश्यक नरहेको उनले प्रस्ट पारे । कार्यदलका संयोजक असिम शाहले पूर्वप्रधानन्यायाधीश एवं पूर्वमन्त्रिपरिषद् अध्यक्ष रेग्मीका यी महत्वपूर्ण र मार्गदर्शक सुझावहरूलाई कार्यदलले तयार पार्दै गरेको ‘बहस पत्र’ मा गम्भीरताका साथ समावेश गर्ने प्रतिबद्धता जनाएका छन् ।
१५- युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई खुला पत्र लेख्दै प्रत्यक्ष भेटवार्ताको प्रस्ताव राखेका छन् । सन् २०२२ मा रुसले युक्रेनमाथि ठूलो मात्रामा आक्रमण सुरु गरेपछि जेलेन्स्कीले पहिलो पटक सार्वजनिक रूपमा पुटिनलाई सम्बोधन गर्दै पत्र लेखेका हुन् । पत्रमा जेलेन्स्कीले युद्ध अन्त्य गर्न दुवै देशका नेताबीच सीधा वार्ता आवश्यक रहेको उल्लेख गरेका छन् । उनले यस्तो बैठक तटस्थ देशमा गर्न प्रस्ताव गर्दै स्विट्जरल्यान्ड, टर्की वा कुनै अरब मुलुकलाई सम्भावित स्थानका रूपमा अघि सारेका छन् । उनले स्पष्ट रूपमा यस्तो वार्ता न त मस्कोमा हुनुपर्ने न त किभमा भनेर जोड दिएका छन् ।
जेलेन्स्कीका अनुसार ठूला र निर्णायक विषयको समाधान देशका शीर्ष नेताले नै गर्नुपर्ने हुन्छ । उनले पुटिनलाई निश्चित मिति तय गरेर बैठक बस्न आग्रह पनि गरेका छन् । साथै, युक्रेनले मात्र अमेरिकाको भूमिकामा भर परेर युद्ध समाप्त हुने आशा गर्नु उचित नहुने उनको भनाइ छ । उनले संकेत गर्दै अमेरिकी प्रशासनको ध्यान अहिले इरान लगायत अन्य अन्तर्राष्ट्रिय विषयतर्फ पनि केन्द्रित रहेको उल्लेख गरेका छन् । पत्रमा उनले युक्रेनी गुप्तचर निकायको हवाला दिँदै रुसले सन् २०२७ र २०२८ सम्म युद्ध लम्ब्याउने योजना बनाइरहेको दाबी गरेका छन् ।
साथै, जमिनमा अपेक्षित सफलता नपाएपछि रुसले क्षेप्यास्त्र आक्रमणलाई बढी प्रयोग गरिरहेको आरोप पनि लगाएका छन् । जेलेन्स्कीले रुसले बेलारुसलाई पनि युद्धमा अझ गहिरो रूपमा तान्न खोजिरहेको तथा मोल्दोभाको रूस समर्थित अलगाववादी क्षेत्र ट्रान्सनिस्ट्रियामा अस्थिरता बढाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । उनका अनुसार अहिले रुसमाथि युद्धको लागत र दबाब बढ्दै गएको छ । उनले युक्रेनले रुसभित्रै ड्रोन आक्रमण गरिरहेको, आर्थिक दबाब, इन्धन अभाव, महँगी र अतिरिक्त सैन्य भर्तीको आवश्यकता जस्ता कारणले मस्को दबाबमा परेको दाबी गरेका छन् । जेलेन्स्कीका अनुसार केवल मे महिनामा मात्रै ३० हजारभन्दा बढी रुसी सैनिक मारिएका वा गम्भीर घाइते भएका छन्, जसका भिडियो प्रमाण पनि युक्रेनसँग रहेको उनले बताएका छन् ।
यद्यपि युक्रेनले पनि ठूलो क्षति भोगिरहेको उनले स्वीकार गरेका छन् । युद्ध अन्त्यको दिशामा अघि बढ्न उनले सम्पूर्ण वार्ताकालीन अवधिभर पूर्ण युद्धविराम लागू गर्नुपर्ने प्रस्ताव राखेका छन् । साथै, युद्धबन्दीहरूको आदानप्रदान र युक्रेनबाट लगिएका नागरिक तथा बालबालिकाको फिर्तीको माग पनि गरेका छन् । पत्रको अन्त्यमा जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदाय युक्रेनबाट थाकेको नभई रुसप्रतिको थकान बढिरहेको टिप्पणी गरेका छन् । उनका अनुसार विश्व समुदाय युक्रेनको समर्थनमा अझै दृढ छ भने रुसमाथिको दबाब निरन्तर बढिरहेको छ ।
१६- एभरेष्ट कलर लिमिटेडको सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) आजदेखि खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला भएको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँड गरिसकेको छ । कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबरको ७ करोड ९० लाख रुपैयाँ मूल्यका ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो ।
त्यसमध्ये ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ । साथै ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको कम्पनीले जनाएको छ । आइपिओमा आवेदन दिने अन्तिम मिति जेठ २७ गते तोकिएको छ । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ५ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत स्वीकृत बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ प्रयोग गरेर आवेदन दिन सक्नेछन् ।
१७- भारतको टी–२० अन्तर्राष्ट्रिय टोलीमा ठूलो परिवर्तन हुने संकेत देखिएको छ । राष्ट्रिय छनोटकर्ताले सन् २०२८ मा हुने लस एन्जलस ओलम्पिक र सोही वर्ष अस्ट्रेलिया तथा न्युजील्यान्डमा आयोजना हुने टी–२० विश्वकपलाई लक्षित गर्दै श्रेयस अय्यरलाई नयाँ कप्तान बनाउने तयारी गरेका छन् भने १५ वर्षीय प्रतिभाशाली ब्याटर वैभव सूर्यवंशी पहिलो पटक राष्ट्रिय टोलीमा बोलाइने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आयरल्यान्ड र इङ्ग्ल्यान्ड भ्रमणका लागि भारतको टी–२० टोली शनिबार घोषणा हुने कार्यक्रम छ । मार्चमा सम्पन्न टी–२० विश्वकपमा सूर्यकुमार यादवको कप्तानीमा भारतले उपाधि जितेपछि यो पहिलो टी–२० अन्तर्राष्ट्रिय सिरिज हुनेछ । यद्यपि ३५ वर्षीय सूर्यकुमार भने टोलीबाटै बाहिरिन सक्ने अवस्था रहेको बताइएको छ । सन् २०२६ को टी–२० विश्वकपमा उनले नौ इनिङ्समा २४२ रन मात्र बनाए। उनको स्ट्राइक रेट १३६.७२ रहेको थियो। त्यसपछि सम्पन्न इन्डियन प्रिमियर लिग २०२६ मा पनि उनको प्रदर्शन अपेक्षाअनुसार हुन सकेन । उनले १३ इनिङ्समा २७० रन मात्र बनाए, जहाँ उनको औसत २०.७६ र स्ट्राइक रेट १४७.५४ रह्यो । ३१ वर्षीय श्रेयसले भने डिसेम्बर २०२३ यता भारतका लागि कुनै टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । टोली संयोजनका कारण सूर्यकुमार यादव र तिलक वर्माले मध्यक्रमको स्थान ओगटेपछि श्रेयसलाई अवसर मिल्न सकेको थिएन ।
उनलाई यस वर्ष जनवरीमा न्युजील्यान्डविरुद्धको घरेलु सिरिजका लागि चोटग्रस्त खेलाडीको विकल्पका रूपमा टोलीमा बोलाइएको थियो । तर त्यसपछिको टी–२० विश्वकपलाई ध्यानमा राख्दै भारतले अन्य खेलाडीलाई प्राथमिकता दिएपछि उनले खेल्ने अवसर पाएनन् । यद्यपि कप्तानका रूपमा श्रेयसको रेकर्ड प्रभावशाली छ । उनले सन् २०२४ मा आइपिएलमा कोलकाता नाइट राइडर्सलाई इन्डियन प्रिमियर लिगको उपाधि दिलाएका थिए । साथै उनले दिल्ली क्यापिटल्सलाई २०२० मा र पञ्जाब किङ्सलाई २०२५ मा प्रतियोगिताको फाइनलसम्म पुर्याएका थिए ।
ब्याटिङमा पनि उनको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । इन्डियन प्रिमियर लिग २०२५ मा उनले ६०४ रन बनाएका थिए, जहाँ उनको स्ट्राइक रेट १७५.०७ थियो। त्यसपछि २०२६ संस्करणमा उनले ४९८ रन बनाउँदै १६८.८१ को स्ट्राइक रेट कायम गरेका थिए । लगातार दोस्रो वर्ष भारतीय छनोटकर्ताले कप्तानीमा यस्तो परिवर्तन गर्न लागेका हुन् । सन् २०२५ मा रोहित शर्माले भारतलाई च्याम्पियन्स ट्रफीको उपाधि दिलाएका थिए । तर त्यसपछि अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजअघि उनलाई कप्तानीबाट हटाइएको थियो ।
यद्यपि रोहित टोलीमा भने कायम रहेका थिए । यता १५ वर्षीय वैभव सूर्यवंशी भारतको पुरुष राष्ट्रिय टोलीमा छनोट हुने सबैभन्दा कम उमेरका खेलाडीमध्ये एक बन्ने तयारीमा छन् । सन् १९८० को दशकको अन्त्यमा सचिन तेन्दुलकरले राष्ट्रिय टोलीमा स्थान बनाएयता यति कम उमेरमा टोलीमा छनोट हुने खेलाडी विरलै देखिएका छन् । सूर्यवंशीले इन्डियन प्रिमियर लिग २०२६ मा विस्फोटक प्रदर्शन गर्दै ७७६ रन बनाएका थिए। उनको स्ट्राइक रेट २३७.३० रहेको थियो ।
उनी आयरल्यान्ड र इङ्ग्ल्यान्ड भ्रमणअघि उनले जुन ९ देखि २१ सम्म श्रीलङ्कामा आयोजना हुने त्रिकोणात्मक सिरिजमा भारत ‘ए’ टोलीबाट खेल्नेछन् । उक्त प्रतियोगितामा अफगानिस्तान पनि सहभागी हुनेछ । भारतले जुन २६ र २८ मा बेलफास्टमा आयरल्यान्डविरुद्ध दुई टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । त्यसपछि जुलाई १ देखि ११ सम्म इङ्ग्ल्यान्डविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने कार्यक्रम रहेको छ ।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको २१ सयले घटेर तोलाको ३ लाख ९ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर तोलाको ५२३० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५२८५ मा कारोबार भएको थियो ।
१९- भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारीहरू बिदा अवधि समाप्त भएपछि सम्बन्धित कार्यालयमा नियमित रूपमा हाजिर नभएको, लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण अद्यावधिक नभएको सम्बन्धमा जानकारी तथा गुनासा प्राप्त भएपछि सूचना जारी गरेको छ ।
मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक गराउनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण, बिदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए/नभएको अवस्था तथा अन्य आवश्यक विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी यकिन गर्न र तीन दिनभित्र अभिलेख अद्यावधिक गराउन अनुरोध गरिएको छ ।
मन्त्रालयले अध्ययन तथा असाधारण बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका वा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीहरूको हकमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने संकेत समेत दिएको छ । सरकारले निजामती सेवामा अभिलेख व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन तथा कर्मचारीहरूको वास्तविक अवस्थाबारे अद्यावधिक विवरण सुनिश्चित गर्न यो सूचना जारी गरिएको जनाएको छ।
२०- उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रहरीले करिब ७ घण्टा नियन्त्रणमा लिएर छोडेको घटनाले कर्मचारीतन्त्र तरंगित बनेको छ । पुष्करलाई विहिबार साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कपनस्थित घरबाट पक्राउ गरेको थियो ।
सचिव पुष्करलाई प्रधानमन्त्री बालेन्द्र शाहलाई निजी सन्देश पठाएर ‘चेन अफ कमान्ड’ उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिइएको बताइएको छ । असार २४ गते सचिव पदको पाँच वर्षे अवधि पूरा गरी अवकाश हुन लागेका पुष्करले प्रधानमन्त्रीलाई भेट्न पटक पटक गरेको प्रयास असफल भएपछि निजी मोबाइलमा सन्देश पठाएको बताइएको छ । प्रहरीले सोधपुछ गरेपछि मुद्धा चलाउनुपर्ने पर्याप्त कारण नदेखेपछि पत्नीको जिम्मा लगाएर बिहीबारै राति छोडेको थियो ।