काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन विस्तार तथा अधिवेशन अभियानलाई तीव्र बनाउँदै हालसम्म ६४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको जनाएको छ ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार हालसम्म ४ हजार ३६३ वटा वडामा वडा अधिवेशन, ६०९ पालिकामा पालिका अधिवेशन तथा ६४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।
पार्टीले सार्वजनिक गरेको विवरणअनुसार कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।
यस्तै, सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहटमा अधिवेशन प्रक्रिया सुरु भए पनि विभिन्न कारणले स्थगित भएको पार्टीले जनाएको छ ।
रास्वपाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश अधिवेशन सम्पन्न भइसकेका छन् । मधेस प्रदेशको अधिवेशन हाल स्थगित रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश अधिवेशन जारी रहेका छन् ।

पार्टीले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ । महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।

महामन्त्री बुर्लाकोटीले देशभरका संगठनात्मक संरचनाहरूलाई पूर्णता दिँदै राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।