काठमाडौं । राइड–हेलिङ सेवा इनड्राइभ नेपाल र डिसहोमको डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीजीओले विश्वकप फुटबल २०२६ लक्षित ‘राइड एन्ड विन’ क्याम्पेन सार्वजनिक गरेका छन् ।
१६ जूनदेखि १८ जुलाईसम्म सञ्चालन हुने क्याम्पेनअन्तर्गत इनड्राइभ प्रयोगकर्ताले डीजीओको फुटबल सिजन पासमा छुट पाउनुका साथै नि:शुल्क स्ट्रिमिङ भौचर जित्ने अवसर प्राप्त गर्नेछन् । साझेदारीमार्फत विश्वकप फुटबल हेर्न चाहने नेपाली समर्थकलाई लक्षित गरिएको जनाइएको छ ।
कम्पनीका अनुसार एक साताभित्र इनड्राइभमार्फत कम्तीमा एक राइड पूरा गर्ने प्रयोगकर्ताले डीजीओ फुटबल सिजन पास खरिदमा १० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, एक साताभित्र तीनवटा राइड पूरा गर्ने प्रयोगकर्ता स्वत: राफल ड्रमा सहभागी हुनेछन्, जहाँबाट नि:शुल्क डीजीओ फुटबल सिजन पास जित्न सकिनेछ ।
क्याम्पेन अवधिभर २ हजार ५ सय वटा डीजीओ फुटबल सिजन पास भौचर वितरण गरिने कम्पनीले जनाएको छ । पाँच सातासम्म हरेक साता करिब ५ सय भाउचर उपलब्ध गराइनेछ ।
नेपालमा फुटबल लोकप्रिय खेलमध्ये एक भएकाले विश्वकप प्रतियोगिताले ठूलो संख्यामा दर्शक आकर्षित गर्ने अपेक्षा गरिएको छ । विश्वकप २०२६ का अधिकांश खेल नेपालमा मध्यरात तथा बिहान प्रसारण हुने भएकाले मोबाइल तथा डिजिटल स्ट्रिमिङ प्लेटफर्मप्रति दर्शकको आकर्षण बढ्न सक्ने कम्पनीहरूको अनुमान छ ।

इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रिता पोखरेलले विश्वकप फुटबलले विश्वभरका दर्शकलाई एकै स्थानमा जोड्ने क्षमता राख्ने बताइन् । डीजीओसँगको सहकार्यले प्रयोगकर्तालाई पुरस्कार प्रदान गर्नुका साथै खेलसँग जोडिराख्ने अवसर सिर्जना गर्ने उनको भनाइ छ ।

डीजीओका चिफ अपरेटिङ अफिसर रोशन निरौलाले फुटबल समर्थकहरूले खेल हेर्न सहज र लचिलो माध्यम खोज्ने गरेको उल्लेख गर्दै डिजिटल प्लेटफर्ममार्फत गुणस्तरीय फुटबल सामग्री थप दर्शकमाझ पुर्याउने लक्ष्य रहेको बताए । उनले इनड्राइभसँगको सहकार्यले समर्थकसँग नयाँ ढंगले जोडिन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।