काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो महाधिवेशन आगामी मङ्सिरमा गर्ने भएको छ ।
विहिबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् ।
महाधिवेशनको कार्यतालिका अनुसार भाद्र मसान्तसम्ममा जिल्ला अधिवेशन गर्ने, असोज मसान्तसम्ममा सक्रिय सदस्यता वितरण गर्ने निर्णय गरिएको छ ।
आजको बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिका समेत परिमार्जन सहित पारित गरेको छ भने केन्द्रीय कार्यसम्पादन समितिबाट प्रस्तावहरूलाई शुक्रबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने निर्णय गरेको छ ।
राप्रपाको वर्तमान कार्यसमितिको कार्यकाल गत मङ्सिरमै सकिएको थियो । त्यसपछि कार्यसमितिको कार्यकाल ६ महिना थपेपछि जेठ १७ गते सकिएको थियो । अब भने कार्यकाल सकिएको एक बर्षपछि महाधिवेशन प्रस्ताव गरिएको छ ।
