सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–२ कृष्णमन्दिरस्थित सेल्स सप्लायर्सबाट सशस्त्र प्रहरीले ७५ बोरा फर्सीको बिउ बरामद गरेको छ ।
स्थानीय नविन कुमार यादवको दिनकर सेल्स सप्लायर्समा अबैध रुपमा भन्डारण गरी राखिएको फर्सीको बिउ सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण सर्लाही, सीमा सुरक्षा गुल्म मलंगवा, बोर्डर आउट पोष्ट खुटौना, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १० सर्लाहीको टोलीले सप्लायर्समा छापा हानेको थियो । उक्त सप्लायर्सबाट बिउ बरामद गर्ने क्रममा केही स्थानीयहरु भेला भई ढुंगामुढा गरेका थिए भने सशस्त्र प्रहरीले स्थितलाई नियन्त्रणको लागि एक ग्यास सेल फायर समेत गरेको थियो । ढुंगा प्रहारबाट गणको ट्रकमा सामान्य क्षति भएको छ । बरामद बिउ सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।