बुटवल । अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सम्बन्धी अवैध कारोबारमा संलग्न रहेको आरोपमा सात जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका–१२ मा केही दिनदेखि विभिन्न निषेधित एप र वेबसाइटमार्फत क्रिप्टोकरेन्सी कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले छापा मारेको थियो ।
सोही क्रममा बिनान्स, ओकेएक्स, इनटोकन, पेटिएम, भीम, मोबिक्विक र फोनपे जस्ता एपमार्फत कारोबार गरिरहेका सात जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा झियङ गोफु, हु गाङ, ली सुआन्हे, सुन हुई, झाओ क्युचेन, सियाङ जियाशुन र ली बिन रहेका छन् ।
उनीहरूबाट विभिन्न कम्पनीका ११ वटा मोबाइल फोन र २ वटा ल्यापटप बरामद गरिएको प्रहरीले जनाएको छ ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
