काठमाडौं । ताइवानको रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३४७०, नेपालको डिस्ट्रिक्ट ३२९२, रोटरी क्लब अफ त्रिपुरेश्वर र ताइवानको रोटरी क्लब अफ चियायी रोयल (रोटरी क्लब अफ चियाई रोयल) बीच नेपालमा स्वास्थ्य शिविर र सामुदायिक स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ ।
कार्यक्रमअन्तर्गत चारवटा सामुदायिक विद्यालयका विद्यार्थी र काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ६ का स्थानीयवासीको आँखा, कान र मुख स्वास्थ्यको स्क्रिनिङ गरिने रोटरी क्लब अफ त्रिपुरेश्वरका अध्यक्ष भरतकुमार लकाईले जानकारी दिए ।
अध्यक्ष लकाईका अनुसार स्वास्थ्य कार्यक्रमको लागि आवश्यक पर्ने वित्तीय स्रोत यी चारवटा क्लबले संकलन गर्ने र रोटरी इन्टरनेसनलको ग्लोबल ग्रान्टका लागि समेत आवेदन दिने योजना रहेको छ । ग्लोबल ग्रान्टका लागि रोटरी इन्टरनेसनलमा आवेदन गर्न चारवटा क्लबले छुट्टै समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
स्वास्थ्य शिविर र स्क्रिनिङ कार्यक्रम ताइवान ओरल केयर एसोसिएसन, जोय फाउन्डेसन (जोय फाउन्डेसन) नेपाल, काउन्सिल अफ कम्युनिटी हेल्थ सर्भिस, तिलगंगा इन्स्टिच्युट अफ अप्थाल्मोलोजी र सिद्धि मेमोरियल हस्पिटलमार्फत कार्यान्वयन हुने बताइएको छ ।
सझदारीपत्रमा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३४७० का डिस्ट्रिक्ट गभर्नर (२०२६–२०२७) लिन चेङ–चाओ , रोटरी क्लब अफ त्रिपुरेश्वरका अध्यक्ष (२०२५–२०२६) भरतकुमार लकाई, ताइवान ओरल केयर एसोसिएसन (टोका)का अध्यक्ष डा. चियु याओ–चाङ (डा. चिउ याओ–चाङ) तथा कार्यान्वयन साझेदारहरू जोय फाउन्डेसनका बाबुकाजी श्रेष्ठ, तिलगंगा इन्स्टिच्युट अफ अप्थाल्मोलोजीका आउटरिच प्रोग्राम म्यानेजर डा. मोहनकृष्ण श्रेष्ठ, काउन्सिल अफ कम्युनिटी हेल्थ सर्भिसका अध्यक्ष एसोसिएट प्राध्यापक केशरबहादुर मानन्धर र सिद्धि मेमोरियल अस्पतालका संस्थापक श्याम धौभडेलले हस्ताक्षर गरेका छन् ।

लकाईका अनुसार यो कार्यक्रमको योजना रोटरी क्लब अफ त्रिपुरेश्वरले अघि सारेको हो । यसमा हातेमालो गर्न ताइवानको रोटरी क्लब तयार भएपछि समझदारीपत्रमा हस्ताक्षर भएको हो । ७५ हजार अमेरिकी डलर बजेटको कार्यक्रम तीन वर्षको हुने र यसबाट दुई हजारभन्दा बढी विद्यार्थी तथा तारकेश्वर नगरपालिका वडा नं. ६ का स्थानीय लाभान्वित हुने बताइएको छ ।

समझदारीपत्र हस्ताक्षर गर्न आयोजित कार्यक्रममा अध्यक्ष लकाई लगायत रोटरी डिस्ट्रिक्ट ३४७० का लिन, टोकाका डा. चियु, जोय फाउन्डेसनका बाबुकाजी श्रेष्ठ, तिलगंगा इन्स्टिच्युट अफ अप्थाल्मोलोजीका डा. मोहनकृष्ण श्रेष्ठ, काउन्सिल अफ कम्युनिटी हेल्थ सर्भिसका अध्यक्ष एसोसिएट प्राध्यापक मानन्धर र सिद्धि मेमोरियल अस्पतालका संस्थापक धौभडेलले आ–आफ्ना धारणा राखेका थिए ।