काठमाडौं । विश्वव्यापी अटोमोबाइल ब्रान्ड ग्रेट वाल मोटर (जीडब्ल्यूएम)अन्तर्गतको प्रिमियम विद्युतीय एसयूभी ‘ओरा ५ ईभी’ नेपाली बजारमा सार्वजनिक गरिएको छ ।
काठमाडौंस्थित द प्लाजामा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको यो सवारीसाधनले नेपालको विद्युतीय सवारी बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार, चीन र थाइल्यान्डपछि नेपाललाई ओरा ५ ईभीको अन्तर्राष्ट्रिय विस्तारका महत्त्वपूर्ण बजारमध्ये एकका रूपमा छनोट गरिएको हो । ‘इन्टेलिजेन्ससँग डिजाइन गरिएको, आकर्षकताले आकार दिएको’ अवधारणामा आधारित यो गाडीमा आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम सुविधा समावेश छन् ।
अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रतिक्रिया प्राप्त गरिसकेको यो मोडलले नेपाली ग्राहकमाझ पनि विशेष स्थान बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
नेपालका निम्ति जीडब्ल्यूएमको आधिकारिक आयातकर्ता भिजी इम्पेक्स प्रालिले नेपाली ग्राहकको आवश्यकता, स्थानीय सडक अवस्था तथा आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै ओरा ५ ईभी सार्वजनिक गरिएको जनाएको छ । कम्पनीका अनुसार, यो सवारीसाधनले सुरक्षित, स्मार्ट तथा दिगो यात्राको अनुभव प्रदान गर्नेछ ।
ओरा ५ ईभी दुई फरक भेरियन्टमा उपलब्ध छ । विशेष प्रारम्भिक मूल्यअनुसार मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तथा टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यो गाडीको प्रमुख आकर्षण एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता हो । साथै, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक मुनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा तथा सेल्फ–हिलिङ पेन्ट प्रविधिजस्ता अत्याधुनिक सुविधा यसमा समावेश छन् ।
सुरक्षाको दृष्टिले पनि ओरा ५ ईभी निकै सबल मानिएको छ । कम्पनीका अनुसार, यसले ५ स्टार एएनक्याप तथा ५ स्टार युरो एएनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको छ ।
गाडीमा २५ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) फिचर, लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, ट्राफिक साइन रिकग्निसन तथा ३३ वटा स्टोरेज स्पेसजस्ता आधुनिक सुरक्षा र सुविधा प्रणाली समावेश छन् ।
जीडब्ल्यूएम हाल विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा सक्रिय रहेको कम्पनीले जनाएको छ । कम्पनीले हालसम्म विश्वभर एक करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको छ । ३५ वर्षभन्दा लामो अनुभव, अनुसन्धान तथा विकासमा गरिएको निरन्तर लगानी र उच्च उत्पादन गुणस्तरका कारण जीडब्ल्यूएम विश्वका अग्रणी अटोमोबाइल ब्रान्डहरूमध्ये एकका रूपमा स्थापित भएको कम्पनीको दाबी छ ।
गाडी सार्वजनिक कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई सम्बोधन गर्दै विश्वस्तरीय प्रविधि, सुरक्षा र प्रिमियम अनुभव नेपाली ग्राहकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूका अनुसार, ओरा ५ ईभीले नेपालमा स्मार्ट, सुरक्षित तथा वातावरणमैत्री यातायातको नयाँ मानक स्थापित गर्नेछ ।
विश्वव्यापी सफलता, आधुनिक डिजाइन, उच्च सुरक्षा मापदण्ड तथा प्रतिस्पर्धी मूल्यका कारण ओरा ५ ईभी नेपाली विद्युतीय सवारी बजारको प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ । भिजी इम्पेक्स प्रालिले आगामी दिनमा पनि नेपाली बजारमा अन्तर्राष्ट्रियस्तरका नवीनतम प्रविधियुक्त सवारीसाधन भित्र्याउँदै जाने जनाएको छ ।