वीरगञ्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोड बढीको बजेट
कर्पोरट खबर
8:50 pm, बुधबार, असार १०, २०८३
- वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोडको बजेट सार्वजनिक गरेको छ।
- बजेटमा पूर्वाधार विकास, वन, विपद् व्यवस्थापन र सुशासनलाई प्राथमिकता दिइएको छ।
पर्सा । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।
आज आयोजित नगरसभाको २०औँ अधिवेशनमा महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलम तर्फबाट नगर कार्यपालिका सदस्य जगत साहले ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजारको अनुमानित बजेट सार्वजनिक गरे ।
प्रस्तुत बजेटअनुसार पुँजीगत खर्चतर्फ एक अर्ब ९६ करोड ९९ लाख ८४ हजार अर्थात् ४४.६ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ पाँच करोड अर्थात् १.१ प्रतिशत बजेट छुट्याइएको छ । त्यसैगरी चालु खर्चतर्फ दुई अर्ब ४० करोड ३४ लाख ६९ हजार अर्थात् कूल बजेटको ५४.३ प्रतिशत विनियोजन गरिएको छ । सङ्घीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९८ करोड २९ लाख, आन्तरिक राजस्वबाट एक अर्ब ४८ करोड, सङ्घीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रूपैयाँ छ । प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८ हजार तथा प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १४ हजार प्राप्त हुने अनुमान गरिएको छ । त्यसअघि नगरसभामा कार्यवाहक प्रमुख आलमले आगामी आर्थिक वर्षका लागि महानगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
त्यसैगरी घरजग्गा रजिष्ट्रेसन शुल्कबाट ४५ करोड, गत वर्षको नगद मौज्दातबाट चार करोड ६९ लाख ४४ हजार तथा नगर विकास कोषबाट १५ करोड रूपैयाँ व्यवस्थापन गरिने बजेटमा उल्लेख गरिएको छ ।