इलाम । भारतीय पक्षले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चिया निर्यात प्रभावित भएपछि बन्द भएका इलामको सूर्योदय नगरपालिकाका ५३ वटा चिया उद्योग शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएका छन् ।
नगरपालिका र सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनबीच भएको तीन बुँदे सहमतिपछि उद्योग सञ्चालन गर्ने निर्णय भएको हो । सहमतिअनुसार निर्यात हुन नसकेको चिया भण्डारणका लागि नगरपालिकाले भण्डारण कक्षको व्यवस्था गर्ने, बजार सहज नहुन्जेल किसानको भुक्तानी उद्योगले पछि गर्ने तथा विषादी नियन्त्रण गरी गुणस्तरीय चिया उत्पादनमा जोड दिने निर्णय गरिएको छ ।
भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियमका कारण चिया निर्यात ठप्प हुँदा करिब १० लाख किलोग्राम अर्थोडक्स चिया गोदाममै थन्किएको उद्योगीहरुले बताएका छन् । यसले किसान, उद्योगी र मजदुर सबै प्रभावित भएका छन् ।
नगरपालिकाले एक सिजनमा उत्पादन हुने ३० लाख किलोग्रामसम्म चिया भण्डारण गर्ने तयारी गरेको छ भने गुणस्तरीय चिया उत्पादनका लागि शुक्रबारदेखि सबै वडामा सचेतना कार्यक्रम पनि सञ्चालन गरिने भएको छ ।
नेपालबाट वार्षिक निर्यात हुने चियामध्ये करिब ८६ प्रतिशत भारतमै जाने भएकाले भारतीय पक्षको नयाँ परीक्षण व्यवस्था लागू भएपछि नेपाली चिया उद्योग ठूलो दबाबमा परेको छ ।