काठमाडौं । साबिक विजेता अर्जेन्टिना समूह ‘जे’ मा शतप्रतिशत नतिजासहित फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ ।
समूह ‘जे’बाट अस्ट्रिया र अल्जेरियाले पनि नकआउट चरणमा स्थान बनाएका छन् । डालास स्टेडियममा आज बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ गोलले पराजित गर्दै लगातार तेस्रो जित निकाल्यो ।
अर्जेन्टिनाको जितमा जियोभानी लो सेल्सो, लाउटारो मार्टिनेज र कप्तान लियोनल मेसीले समान एक–एक गोल गरे । मेसीको यो विश्वकपमा छैटौँ गोल हो । जोर्डनका मुसा अल–तमारीले सान्त्वना गोल फर्काए ।
पहिलो हाफको १९औँ मिनेटमा सेल्सोले फ्रिकिकमार्फत अग्रता दिलाए । खेलको ३१औँ मिनेटमा मार्टिनेजले पेनाल्टीमा गोल गर्दै अन्तर दोब्बर बनाए दोस्रो हाफमा अल–तमारीले जोर्डनलाई खेलमा फर्काउने प्रयास गरे पनि ८०औँ मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनाको जीत सुनिश्चित गरे । मेसी विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता हुन् । उनले अहिलेसम्म सर्वाधिक १९ गोल गरेका छन् ।
समूह ‘जे’ को अर्को खेलमा अस्ट्रिया र अल्जेरियाले ३–३ गोलको रोमाञ्चक बराबरी खेले । अस्ट्रियाका मार्को अर्नाटोभिचले २८औँ मिनेटमा र मार्सल सबिट्जरले ५५औँ मिनेटमा गोल गरे ।

अल्जेरियाका रफिक बेलघालीले ४५औँ मिनेटमा र रियाद महरेजले ६०औँ मिनेटमा गोल गरे । इन्जुरी समयमा महरेजको गोलले अल्जेरियालाई जित नजिक पुर्याए पनि त्यसको केहीबेरमै सासा कालाज्डेजिकले बराबरी गोल फर्काएपछि खेल ३–३ को बराबरीमा सकिएको हो ।
अस्ट्रिया र अल्जेरियाले समान ४–४ अंक जोडेका छन् । गोलअन्तरका आधारमा अस्ट्रिया दोस्रो र अल्जेरिया तेस्रो स्थानमा रहँदै दुवै टोली नकआउट चरणमा पुगेका हुन् ।