काठमाण्डौँ — यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ नोट साटिदिने भएको छ ।
सर्वसाधारणका लागि प्रतिव्यक्ति २१ हजार रुपैयाँसम्मका दरले नयाँ नोट सटही सुविधा दिने तयारी भएको राष्ट्र बैंकले जनाएको छ ।
‘सर्वसाधारणले विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा पाउने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मी प्रपन्न निरौलालले बताए ।
राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट साटिदिने तयारी गरेको निरौलालले बताए ।
बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले बिहीबार देखि नयाँ नोट वितरण गर्दै छ ।
बैंक तथा वित्तीय संस्थालाई पहिले नयाँ नोट दिए पनि ती संस्थाले पनि २१ गतेदेखि मात्र सर्वसाधारणलाई वितरण सुरु गर्नेछन् ।
नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणले नयाँ नोट साट्न सक्ने उनको दाबी छ ।
‘असोज २१ देखि २९ गतेसम्म सटही सुविधा उपलब्ध गराइने भएकाले आफूलाई पायक पर्ने नजिकको बैंकबाट सटही गर्न राष्ट्र बैंकले भनेको छ ।
काठमाडौं उपत्यकाभित्र नेपाल बैंकको न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सर्वसाधारणले नयाँ नोट सटही गर्न सक्नेछन् ।
यस्तै राष्ट्रिय वाणिज्य बैंकको सिहदरबार, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्सान, कलंकी र बालाजु शाखाबाट र कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भू र मंगलबजार शाखाबाट नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।
— कारोबार
FACEBOOK COMMENTS