डिएन घिसिङ
मानव जातिको विकास तथा विकासक्रम मानवशास्त्र र खेलकुद गतिविधिसँग परिपुरक रहेको अध्ययनले देखाएको छ। मानवीय व्यवहारको क्रियाकलापले आधुनिक सभ्यताको वर्तमान र विगत समेतलाई उजागर गरेको हुन्छ। सामाजिक व्यवहारको ढाँचा र सांस्कृतिक विज्ञान मानव विकासको कल्पनासँग मेल खाएको छ।
मानव जातिको उत्पत्तिको संघारमा शारीरिक संरचनाको विकास कसरी भयो भन्ने सम्बन्ध भएका अध्ययनले समेत शारीरिक रचना र क्रियाकलापको प्रमुख कारण रहेको औल्याएका छन्। प्रारम्भिक ढुंगे अवस्थामा मानवको प्राचीन रुप थियो। शिकार गरेर जीविका निर्वाह गर्ने, रुखका बोक्रा लगाउने, गुफा, ओडार, जंगलमा बास बस्ने यिनीहरुको स्वभाव थियो। मध्यम ढुंगे युग अवस्थामा आइपुग्दा मानवले केही मात्रामा खेतीपाती गर्ने, खानेकुराको संग्रह गर्ने, पशुपालन गर्ने गरेको देखिन्छ।जसबाट के थाहा हुन्छ भने शारीरिक क्रियाकलाप बिना जीवन प्रकृया सहजै काटन प्रायःअसम्भव थियो।
सभ्यता विकसित हुँदै जाने सिलसिलामा मानवले गर्ने हरेक गतिविधि शाररिक र मानसिक क्षमतासँग जोडेर हेरेको देखिन्छ।मानव शास्त्र शब्दको अर्थ पनि मानवसम्बन्धी विज्ञान भन्ने हुन्छ। यसमा सांस्कृतिक अर्थ, मापदण्डहरू र मूल्यहरु समावेश गरिएको हुन्छ । मानिसको अन्तरसम्बन्ध र अन्तरक्रियाबाट मानव विकासको सभ्यता उजागर गरिएको हुन्छ । मानव समाज र सामाजिक अन्तरक्रियाको वैज्ञानिक अध्ययन गर्ने विषय भएकाले व्यक्ति, परिवार, समाजको क्रियाकलाप, विकासक्रम आदीसँग अन्तरनिहित छ । यस अर्थमा मानव सभ्यताको पहिचान, विकासको क्रियाकलाप, शारिरिक रचना साथै मानव सक्रियतालाई अन्तरसम्बन्धित दृष्टिकोणबाट हेर्नु मनाशिव रहन्छ ।
अमेरिकी मानवशास्त्रका पिता फ्रेञ्ज बोसले मानवशास्त्रका मूलभूत चार शाखाबारे चर्चा गरेका छन् । जैविक वा शारीरिक मानवशास्त्र, सामाजिक तथा साँस्कृतिक मानवशास्त्र, पुरातात्विक मानवशास्त्र, भाषा विज्ञानसम्बन्धी मानवशास्त्र । यी विषयअन्तर्गत मानवसँग सम्बन्धित समग्र पक्षमा अध्ययन हुन्छ भन्ने उनको तर्क छ । साथै, अर्को महत्वपूर्ण विषयमा व्यवहारिक ज्ञान प्रदान व्यवहारपरक मानवशास्त्र पर्दछ भन्ने पनि उल्लेख भएको पाईन्छ ।उल्लेखित सोधमा खेलकुद अर्थात शारीरिक गतिविधि अधिक परस्पर रहेको देखाइएको छ।
दैनिक जीवनको सक्रियता र शारीरिक अभ्यास एक अर्काबीच निकट रहने बिषय हुन । आधुनिक खेलकुद गतिविधिलाई मानवीय सभ्यताको सुन्दर कडिका रुपमा अर्थ्याउन सकिन्छ । यससँग जोडिएका स्वास्थ्य, शिक्षा, आर्थिक, धार्मिक, राजनीतिक, कानूनी जस्ता कुराहरुमा व्यक्तिको सम्बन्ध र व्यवहारको विषयले महत्व बढाएको हुन्छ ।
समाजले व्यक्ती व्यक्ती बीचको मूल्यांकन फरक ढङ्गले गरेको हुन्छ । हरेक क्रियाकलाप शारिरिक रचना र शारीरिक चलायनमानसँग जोडिएर हेरिएको हुन्छ। यो सन्दर्भ स्वास्थ्यसँग पनि निहित रहन्छ । फलस्वरूप प्राकृतिक अनुकूलतामा रहेर व्यक्ति–व्यक्तिबीचको शारीरिक क्षमता र मानसिक क्षमतालाई कदर गर्दै फरक हैसियतमा समाजले पहिचान गरेको हुन्छ ।
शरिर रचनाको आधार र शारीरिक गतिविधिबीचको तालमेलले मात्रै प्रत्येक व्यक्तिको क्षमता अनुमान गर्न सकिन्छ । मानवशास्त्रको अर्को पक्ष पहिचानलाई उजागर गर्नु हो । अहिले विश्वमा पहिचानको सवाल जल्दोबल्दो रूपमा उठने गरेको छ । राजनीति तथा विकासलाई अघि बढाउने मूल पक्ष पहिचान हो। यसले भिन्नभिन्न भौगोलिक क्षेत्रमा बस्ने मानिसहरूको समस्या र पहिचानलाई ठम्याउने काम गर्दछ। जसबाट राष्ट्रिय एकीकरण तथा मेलमिलापको भावना जागृत गराउँछ । मानवशास्त्र प्राचीन एवं परम्परावादी जीवनशैलीमा हुर्केका, जसको आफ्नै रैथाने थातथलो छ, संस्कृति र पहिचान छ, ती समुदायको समस्यालाई उजागर गर्ने र सम्बोधन गर्ने विषय हो । यही विषयलाई केन्द्रमा राखेर हेर्ने हो भने आधुनिक खेलकुदलाई जीवन पहिचानको रूपमा लिन सकिन्छ ।
एन्थ्रोपोलोजी अफ स्पोर्टसका प्राज्ञहरुले इतिहास र समकालीन विश्वमा खेलको सांस्कृतिक र जैविकपना एकाअर्काको परिपुरक रहेको पुष्टि समेत गरिसकेछन । स्पोर्टस अर्थात खेलको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक आयामहरूको बारे विभिन्न कोणबाट विश्लेषण समेत हुँदै आएका छन्। साथै, खेलले संसारभरका व्यक्ति र समुदायको जीवनमा कसरी प्रभाव पार्दछ भन्ने देखिदै आएको पनि छ ।
मानव सभ्यतामा शारीरिक गतिशीलताको महत्व
सभ्यता भन्नाले मानव समाजको सकारात्मक, प्रगतिशील र समावेशी विकासको स्थितिलाई बुझ्न सकिन्छ। सभ्य समाज प्रायः उन्नत शारीरिक क्रियाकलाप र सोचको विकास क्रमलाई लिन सकिन्छ। सामाजिक क्रियाकलाप र आधुनिकताको पहिलो खुटकिलो शारीरिक गतिशीलता हो।चाहे खेती, फैलिएको उद्योग र लामो दूरीको व्यापार, व्यावसायिक विशेषज्ञता आधुनिक समाजतर्फ उन्मुख छ। मानवले आफ्नो अज्ञानतालाई स्वीकार गरेर प्रगतिको चेतना हासिल गर्यो । पछिल्लो चरणमा यही प्रगतिवादी अथवा भनौ अग्रगामी अवधारणा आर्थिक र भौतिकवादी अवधारणामा रुपान्तरण भएको देखिन्छ । जो शारीरिक दर्शनसँग निहित रहन्छ।
आधुनिक खेल र मानव
समयको गति र जीव जगतको नियतिको आरोह अवरोहसँगै मानव जगतको विकासक्रम पनि परिवर्तित स्वरुपमा अगाडि बढिरहेको छ।मानिसले प्राकृतिक रुपमा लिएर आएको अनुबांशिक गुण सबैभन्दा बढी प्रभावकारी रहेको छ।आधुनिक जीवनमा खेलकुदलाई फरक ढंगले महत्व दिईएको छ।खेल प्रस्तिपर्धाको स्वरुप ,दैनिक जीवनका क्रियाकलाप र स्वास्थ्य जस्ता कुराहरु समावेश छन्।खेलकुद क्षेत्रलाई विश्वव्यापी मूल्य र मान्यताको आधारमा सबैका लागि खेलकुदको अवधारणा अगाडी विकसित हुँदै गएको छ।यस्ता खाले माध्यमबाट स्वास्थ्य र तन्दुरुस्ती, अनुशाशित जनशक्ति तयार गर्नु हो।
स्वास्थ्य र खेलकुद
स्वस्थ शरीर र स्वस्थ समाजका लागि खेलकुद अपरिहार्य छ।खेलकुदसँग तादम्यता मिलाउँदै सफलताको शिखर चुम्नलाई मात्रै प्रमुखतामा नहेरी आधुनिक खेललाई स्वास्थ्य समेत प्रमुख रुपमा हेरेका छन्।स्वस्थ नागरिकबाट समृद्ध समाजको परिकल्पना गरेर आधुनिक विकासको कार्यमा खेलकुदलाई प्रमुख आधारको रूपमा लिईएको छ।
FACEBOOK COMMENTS