पुग्न ४ दिन लाग्ने ठाउँमा ३ दिनको पुर्जी, निषेधाज्ञाको पनि वेवास्ता
काठमाडौं, भदौ १९ – लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण यतिबेला देशका धेरैजसो क्षेत्रहरु बन्द छन् । स्थानीय प्रशासनले पसल, व्यवसाय, उद्योग, कलकारखानामात्रै नभएर सवारीसाधनदेखि पैदल यात्रामा समेत प्रतिबन्ध लगाइएको छ । यहीबीचमा नेपाल राष्ट्र बैंकबाट लाइसेन्स पाएर सञ्चालनमा आएको एउटा लघुवित्त संस्थाले भने जागिर छाड्न बाध्य पार्नेगरी अव्यवहारिक रुपमा कर्मचारीहरुको सरुवा गरेर आतङ्क मच्चाएको छ ।
प्रसंग हो, कालिका लघुवित्तको । स्याङ्जाको वालिङ मुख्य कार्यालय भएको राष्ट्रिय स्तरको लघुवित्तमा कार्यकारी प्रमुख आएपछि कर्मचारीहरुमा सरुवा आतङ्क सुरु भएको हो । अघिल्लो प्रमुख कार्यकारी अधिकृतको अवधि सकिएसँगै कमलबहादुर खत्रीले साउन १ गतेदेखि कार्यबाहक सीईओको जिम्मेवारी पाएका थिए । उनी आएको पहिलो सातादेखि नै कर्मचारीको व्यापक सरुवा सुरु भएको आरोप कर्मचारीहरुले लगाएका छन् ।
डोटीको बुदार शाखामा कार्यरत जितेन्द्र बोहोरालाई साउन ८ गते पत्र पठाएर गुल्मीको शान्तिपुर शाखामा सरुवा गरेको सूचना दियो । उनलाई साउन ११ गतेको म्याद दिएर सम्बन्धित शाखामा उपस्थित हुन भनिएको थियो । लामो दूरीको सवारीसाधन नचलेको अवस्थामा उनी सो शाखामा जान सम्भव भएन, तर व्यवस्थापनले निकै दवाव दिएपछि साउन २३ गते उनले राजीनामा पत्र बुझाएका छन् । बोहोरा भन्छन्, ‘३ दिनभित्र गुल्मी जान सम्भव पनि भएन यो तलब सुविधामा गुल्मी गएर खानबस्न पुग्ने अवस्था भएन, त्योभन्दा राजीनामा दिन्छु, बरु अन्तै जागिर खोजौँला भनेर राजीनामा दिएँ ।’
अव्यवहारिक रुपमा सरुवा गरिएकै कारण केही कर्मचारीहरु राजीनामा दिने तयारी गरिरहेका छन् । पर्वतबाट मकवानपुर सरुवा गरिएकी शर्मिला शर्मा, तनहुँको जामुने शाखाबाट डोटीको वायल शाखामा पठाइएका अनिलजंग पाण्डे, तनहुँको साजबोटे शाखाबाट डोटीको बुदार शाखामा पठाइएकी कमला राना लगायत यतिबेला जागिर छोड्ने मनस्थितिमा छन् । पाण्डे भन्छन्, ‘कुनै समन्वय नै नगरी सरुवाको पत्र आयो । तनहुँको मान्छेलाई डोटी पठाइएको छ, अब कसरी जानु ? जान सकिन्छ जस्तो लागेको छैन ।’
त्यस्तै, पर्वत शाखाबाट मकवानपुर सरुवा गरिएकी शर्मिला शर्मा पनि तोकिएको ठाउँमा जाने अवस्था नभएपछि जागिर छोड्ने मौखिक जानकारी दिइसकेको बताउँछिन् । ‘साउन ८ गते पत्र आएको थियो, ११ गते पुग्नु भनिएको थियो । तर जान सम्भव नै भएन । उहाँहरुले सोधिरहनुभएको छ, तर मैले राजीनामा दिन्छु भनिसकेको छु ।’
यो लघुवित्तले साउन ७ गतेदेखि अहिलेसम्म ४६ जना कर्मचारीको सरुवा गरेको छ । सबैजसोलाई पत्र थमाएको ३ दिनभित्र तोकिएको शाखामा हाजिर हुन निर्देशन दिइएको छ । कतिपय शाखा सामान्य अवस्थामै पनि जान ३ दिनसम्म लाग्ने अवस्था समेत छ ।
कास्कीको पामे शाखाबाट नवलपरासीको चोरमारा सरुवा गरिएकी ममता डुम्रे भने बारम्बार हाजिर हुन दवाव दिएपछि १० हजार रुपैंया खर्च गरेर सम्बन्धित कार्यालयमा हाजिर भएकी छिन् । राजीनामा दिएका जितेन्द्र बोहोराबाहेक सरुवाको पत्र पाएर पनि सम्बन्धित ठाउँमा जान नसकेको संख्या अहिले १६ जना छ । स्रोत भन्छ, ‘उच्च व्यवस्थापनको टर्चरले सबैजना मानसिक रुपमा पीडित छन् ।’
मर्जरको नकारात्मक ‘सिनर्जी’
कालिका लघुवित्त यसअघिको जनसेवी लघुवित्त वित्तीय संस्थासँग मर्ज भएर राष्ट्रियस्तरको बनेको लघुवित्त हो । कालिकाबाट सीईओ र जनसेवीबाट डेपुटी सीईओ रहनेगरी व्यवस्थापनमा सहमति भएको थियो । तत्कादिन सीईओ बोहोराले मीनबहादुर बोहोरो साउन १ गतेदेखि बाहिरिएपछि खत्री कार्यबाहक सीईओको रुपमा कार्यरत छन् ।
खत्री आएपछि तात्कालिन कालिका लघुवित्तका कर्मचारीप्रति विभेदकारी व्यवहार सुरु गरेको कर्मचारीहरुले आरोप लगाएका छन् । तर, खत्री भने त्यो स्वीकार गर्न तयार छैनन् । उनले धेरैजसो सरुवा पदस्थापनका लागि गरिएको र केही सरुवा मात्रै अरु कारणले भएको दाबी गरेका छन् ।
‘हामीले पछिल्लो समय मात्रै २१ जनाको बढुवा गरेका छौं । बढुवा भएपछि पदपूर्तिको लागि अरु शाखामा पठाउनु संस्थागत अभ्यास नै हो । २१ जनालाई सरुवा गर्दा त्यसको प्रभाव दोब्बर संख्यामा पर्ने नै भयो । २÷४ जना मात्रै अरु कारणले सरुवा भएका छन्,’ खत्रीले भने, ‘सरुवामा कुनै पूर्वाग्रह राखेको छैन, माथिल्लो पद पनि चाहिने, पायक पर्ने ठाउँ पनि चाहिने भन्ने हुँदैन ।’ उनले अहिलेसम्म कसैले आफूलाई सरुवामा अन्याय भयो भनेर नभनेको समेत दाबी गरे । कसैले त्यस्तो गरेको छु, भन्छ भने प्रमाणित गरेर देखाउन उनले चुनौती समेत दिए । ‘कसैले अर्को ठाउँमा जागिर पायो होला, कसैलाई काम गर्न मन लागेन होला, छोड्ने बेलामा बदनाम गराउने नियत पनि हुनसक्छ,’ खत्रीले भने ।
पछिल्लो समय सो लघुवित्त एकपछि अर्को विवादमा मुछिएको छ । सो लघुवित्तको तनहुँ शाखामा ‘फेक लोन’ प्रवाह भएर ठगी भएको घटना बाहिर आएको छ । त्यसमा संलग्न हुने शाखा प्रबन्धकलाई बचाउन अध्यक्ष नै लागेको आरोप समेत कर्मचारीले लगाएका छन् । विवादले गर्दा दुईवटा लघुवित्त मर्जर भएर बलियो बन्ने अपेक्षा गरिएको लघुवित्त झनै समस्यामा पर्दै गएको दाबी समेत उनीहरुको छ ।
FACEBOOK COMMENTS